इनम सापकोटाको खातामा ६ करोड ३१ लाखको शंकास्पद कारोबार, मुछिए कांग्रेस नेता

कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका महेशले ७ पटकमा कुल १ करोड ४२ लाख ५० हजार रुपैयाँ सापकोटाको खातामा पठाएका छन् ।

इनम सापकोटाको खातामा ६ करोड ३१ लाखको शंकास्पद कारोबार, मुछिए कांग्रेस नेता

काठमाडौं । पछिल्लोसमय चर्चामा रहेका इनम सापकोटाको बैंक खातामा पछिल्लो एक वर्षको अवधिमा ६ करोड ३१ लाख रुपैयाँ बराबरको अस्वाभाविक आर्थिक कारोबार भएको खुलेको छ । सापकोटाको एउटै खातामा उक्त परिमाणको रकम जम्मा भएको देखिएको हो ।

अनुसन्धानका क्रममा सापकोटाको खातामा सबैभन्दा बढी रकम कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठले जम्मा गरेको पाइएको छ । कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ स्कुलका सञ्चालक समेत रहेका महेशले ७ पटकमा कुल १ करोड ४२ लाख ५० हजार रुपैयाँ सापकोटाको खातामा पठाएका छन् । सापकोटासँगको यही शंकास्पद लेनदेन पुष्टि भएपछि काठमाडौं प्रहरीले उनलाई आइतबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।

प्रहरी अनुसन्धानअनुसार सापकोटाको खातामा जम्मा भएको ठूलो रकम २४ घण्टा बित्न नपाउँदै विभिन्न कम्पनीका खातामा रकमान्तर (ट्रान्सफर) गर्ने गरिएको थियो । उनले प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि, इन्जिक बिल्डर्स प्रालि र हिमालयन फ्लोरा इन्टरप्राइजेज प्रालिको खातामा रकम पठाएको देखिएको छ । प्रहरीसँगको बयानमा सापकोटाले स्वास्थ्य उपकरण तथा स्किन केयर सामग्री आयात गर्ने प्रयोजनका लागि आफूले प्रिसाइज हेल्थकेयर टेक्नोलोजी प्रालि सञ्चालनमा ल्याएको दाबी गरेका छन् ।

यस्तै, सापकोटाको खातामा दोस्रो ठूलो रकम श्रीवृद्धि इन्भेस्टमेन्ट प्रालिबाट भित्रिएको छ । गत असोज ७ गते प्राइम कमर्सियल बैंकको चेकमार्फत उक्त कम्पनीले १ करोड रुपैयाँ जम्मा गरेको र सापकोटाले लगत्तै सो रकम क्यापिटल म्यासज सेक्युरिटी लिमिटेडको खातामा पठाएको बैंकिङ विवरणले देखाउँछ । यसका अलावा, उमेश श्रेष्ठ अध्यक्ष रहेको जनमैत्री फाउन्डेसनको प्राइम कमर्सियल बैंकस्थित खाताबाट पनि भदौ १५, २०८३ मा चेकमार्फत २० लाख रुपैयाँ सापकोटाको खातामा गएको भेटिएको छ । प्रहरीले कांग्रेस नेता उमेश श्रेष्ठ र सापकोटाबीचको सम्बन्धबारे पनि सूक्ष्म अनुसन्धान गरिरहेको छ ।