बसबरिया गाउँपालिकाका अध्यक्ष राय पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका रायलाई पक्राउ गरेको हो ।

बसबरिया गाउँपालिकाका अध्यक्ष राय पक्राउ

काठमाडौं । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका रायलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले राय पक्राउ परेको पुष्टि गरे । उनका अनुसार किर्ते हस्ताक्षर गरी गाउँसभा पारित गरेको आरोपमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि रायलाई नियन्त्रणमा लिइएको हो ।

आर्थिक वर्ष २०८०/८१ को गाउँसभामा वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गरेको आरोप रायमाथि छ । गाउँसभा बैठकमा बजेटको निर्णय गर्दा आधाआधा भएपछि गाउँपालिका अध्यक्ष रायले वडा सदस्य सहनीको हस्ताक्षर किर्ते गरेर बजेट पारित गराएको आरोप रहेको प्रहरी स्रोतले बतायो ।

यस विषयमा गाउँपालिकाकी उपाध्यक्ष पक्षले अध्यक्ष रायविरुद्ध सर्लाही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।