कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले शानदार सुरुवात गर्दै सुदूरपश्चिम रोयल्सलाई सुरुवाती दबाबमा पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी डे–नाइट खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ४.४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर जम्मा १३ रन बनाएको छ।
लुम्बिनीका बलरहरूले सुरुवातदेखि नै कसिलो बलिङ गर्दै सुदूरपश्चिमको शीर्ष क्रम ध्वस्त पारेका हुन्। मात्र ८ रन जोड्दा ३ प्रमुख विकेट गुमाएको सुदूरपश्चिमको इनिङ्स उकास्न अहिले क्रिजमा दीपेन्द्रसिंह ऐरी (३ बलमा २ रन) र इशान पाण्डे (७ बलमा १ रन) संघर्षरत छन्।
विकेट पतन र बलिङ प्रदर्शन
लुम्बिनीका बायाँहाते तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले सुदूरपश्चिमको ब्याटिङ लाइनअपमा मुख्य धक्का दिए। उनले पहिलो ओभरमै विकेट दिलाए भने तेस्रो ओभरको पाँचौँ बलमा थनुका डबारेलाई (८ बलमा ३ रन) विकेटकिपर डिकवेलाको हातबाट क्याच आउट गराए । उनले २.४ ओभरमा मात्र ७ रन खर्चेर २ विकेट लिएका छन्।
चौथो ओभरको पहिलो बलमै अभिषेक गौतमले अनुभवी ब्याटर विनोद भण्डारीलाई (९ बलमा ३ रन) डिकवेलाबाटै क्याच आउट गराउँदै सुदूरपश्चिमलाई तेस्रो झट्का दिए। गौतमले आफ्नो पहिलो ओभरमा मात्र १ रन दिएर १ विकेट लिएका छन्।

