कास्की । इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड जरिबानाको फैसला गरेको छ ।
कास्की स्थित इमेज सहकारी ठगीमा पूर्पक्षका लागि बागलुङ कारागारमा रहनुभएका नेपालीसहित सात जनालाई फैसला सुनाएको छ ।
न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले कात्तिक १७ गते देवकुमारसहित ७ जनालाई कैद सजाय, जरिबाना र बिगो रकम असुल गर्ने फैसला गरेको छ । पोखराकोको सिर्जनाचोकस्थित इमेज सहकारीको रकम हिनामिनामा देवकुमारलाई ८ वर्ष कैद र १ करोड २६ लाख २३ हजार जरिबानाको फैसला भएको हो ।
सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई ७ वर्ष तथा अन्य ४ जना प्रतिवादीलाई ६ वर्षका दरले कैद सजाय हुने फैसला गरेको छ । सञ्चालक चित्रबहादुर र शक्ति किसानलाई ७ वर्ष कैद र १ करोड २६ लाख २३ हजार रुपैयाँ जरिबाना तोकिएको छ । निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङसहित ४ जनालाई जनही ६ वर्ष कैद सजाय र १ लाख २६ लाख २३ हजार रुपैयाँ नै जरिबाना गर्ने फैसला भएको छ ।
यो सहकारी ठगी प्रकरणमा अझै ८ जना फरार छन् । फैसलाको पूर्णपाठ आउन बाँकी रहेको छ । सुरुमा ५ सय २४ जनाको जाहेरीका आधारमा ५७ करोड ३५ लाख ८४ हजार रुपैयाँ बिगो मागदाबी गर्दै २०८० भदौ १२ गते कास्की जिल्ला अदालतमा अभियोग पत्र दायर भएको थियो । जसमध्ये ५ किस्तामा ४ सय जनाको मिलापत्र भएको थियो । बाँकी १ सय १० जनाको जाहेरीका आधारमा झण्डै १८ करोड बिगो माग दाबी गर्दै १५ जनाविरुद्ध नै अभियोगपत्र दायर गरिएको थियो ।
२०८२ कात्तिक २५ कास्की जिल्ला अदालतमा दायर भएको पुरक अभियोगपत्र अनुसार फैसला भएको हो । नेपालीलाई बागलुङको इमेज सहकारी ठगी प्रकरणमा समेत पुर्पक्षका लागि बागलुङ कारागार चलान गरिएको थियो ।

