काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि आवेदन खुलाएको छ ।
आयोगले मंगलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मंसिर ७ गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो ।
उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत पुस ७ गते राति १२ बजेसम्म एकल दस्तुरमा आवेदन दिन सक्नेछन् । सो अवधिमा आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर पुस १४ गते राति १२ बजेसम्म दरखास्त पेस गर्न सक्ने आयोगले जनाएको छ।
आवेदन दिँदा उम्मेदवारले नागरिकताको हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्रलगायत आवश्यक विवरण तथा कागजात अनलाइन फाराममा अपलोड गर्नुपर्नेछ । परीक्षासम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा रहेको सूचनामा उल्लेख छ ।

