काठमाडौं । उदाउँदो सूर्यदेवलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सोमबार बिहान सम्पन्न भएको छ । तराई–मधेशसहित देशका विभिन्न स्थानमा श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छठ पर्वको अन्तिम दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।
गत शनिवार कात्तिक शुक्ल पञ्चमीका दिन खरना विधि सम्पन्न गरी निराहार व्रत सुरु गरेका व्रतालुहरूले आइतवार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए ।
त्यसपछि रातभर नदी, तलाउ, पोखरी तथा विभिन्न जलाशयका घाटमा जाग्राम बसेका उनीहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य अर्पण गरेका हुन् ।




