राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान

छठ पर्वमा सहभागी हुने क्रममा पशुपति क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घ्य दान

काठमाडौं । छठ पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिको गुह्येश्वरीस्थित वाग्मती किनारमा निर्माण गरिएको छठी माताको प्रतिमामा पूजा आराधनासहित अर्घ्य दान गरेका छन् ।

प्रथम महिला सविता पौडेलसहित छठ पूजा स्थल पुगेका राष्ट्रपति पौडेलले छठी माताको प्रतिमामा पूजा आराधना गरी गौरीघाट क्षेत्रको छठ पर्वको उद्घाटन गरेका थिए । राष्ट्रपति पौडेलले उद्घाटन गरेसँगै गुह्येश्वरी गौरीघाट क्षेत्रमा निर्माण गरिएका ६०० भन्दाबढी छठ घाट अर्थात् पूजा स्थलमा जम्मा भएका व्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आरधना गरी अर्घ्य दिएर छठ पर्व मनाउँदै छन् ।

राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, काठमाडौँ निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं सदस्यहरु तथा छठ पूजा समिति तथा गुह्येश्वरीका पदाधिकारी एवं सदस्यहरुले स्वागत गरेका थिए ।

चारदिने छठ पर्वको मुख्य एवं तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ दान गरेका व्रतालु रातभर छठ घाटमै जाग्राम बस्छन् । कार्तिक शुक्ल सप्तमीका दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दान गरेपछि छठ पर्व समाप्त हुन्छ । छठ घाटमा बस्न नसक्ने व्रतालु भने आज बेलुकीको कर्म सकेर सोमबार बिहानै घाटमा पुगी व्रत समापन गर्छन् ।

छठ पर्वमा सहभागी हुने क्रममा पशुपति क्षेत्रमा हजारौँ भक्तजनको उपस्थिति रहेको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।