काठमाडौं । पोखरा एभेन्जर्सले दुई ब्याटरको अर्धशतकमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध २२५ रनको कर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
एनपीएलको इतिहासमा यो सर्वाधिक लक्ष्य हो । यसअघि यो कीर्तिमान विराटनगर किंगसको नाममा थियो ।
पोखराका निम्ति मार्की कुशल भुर्तेलले ९९ रनको विस्फोटक अर्धशतकीय इनिङ खेले । जुन टोलीले प्रस्तुत गरेको उक्त विशाल लक्ष्यको मुख्य आधार बन्यो ।
जारी सिजनमा कुशलको यो सबैभन्दा उत्कृष्ट इनिङ हो । कुशलले जारी सिजनमा स्वदेशी खेलाडीतर्फ सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान रचेका छन् । यसअघि यो कीर्तिमान ८७ रन बनाएका लोकेश बमको नाममा थियो । कुशलले ५१ बलमा समान आठ चौका र छक्का प्रहार गर्दै उक्त कीर्तिमान आफ्नो नाममा ल्याए ।
उनले एनपीएलको चौथो अर्धशतक पनि पूरा गरे । उनले यसै सिजन यसअघि कर्णाली याक्सविरुद्धको खेलमा अर्धशतक प्रहार गरेका थिए । कुशलले दोस्रो सिजनमा दुई अर्धशतक प्रहार गरेका थिए ।
कुशलले दोस्रो विकेटको निम्ति ओपनर युवराज सम्रासँग १८६ रनको शतकीय साझेदारी गरे । तर १८.२ ओभरमा काठमाण्डूका कप्तान करण केसीको बलिङमा ‘एड्ज’ लागेर विकेटकिपर स्मित पटेलबाट क्याच हुनपुगेपछि उक्त साझेदारी तोडिएको थियो ।
युवराजले ८९ रनको अर्धशतकीय पारी खेले । एनपीएलमा यो सम्राको दोस्रो अर्धशतक हो । उनले यसअघि विराटनगर किंगसविरुद्ध अर्धशतक प्रहार गरेका थिए । सम्राले ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए । उनी जारी सिजनको एकल शतककर्ता समेत हुन् ।
अविजित रहेका कप्तान चमिका कुरणारत्नेले १९ रन बनाए । ओपनर अर्जुन कुमालले पाँच रन जोडे भने अविजित रहेका धनन्ञ्जय लक्ष्मणले दुई रन जोडे । काठमाण्डूका निम्ति करणले दुई विकेट लिए भने जाहान्डाड खानले एक विकेट लिए ।

