२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

उनको साथमा रहेको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागु औषध बरामद भएको हो। प्रहरीले निजको साथबाट ५.५ किलो सेतो हेरोइनका साथै एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ।

२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरोले ५.५ किलोग्राम सेतो हेरोइनसहित लागु औषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारतको महाराष्ट्र राज्यअन्तर्गत पुणे ठेगाना भएका ५२ वर्षीय रेवाराज टिघारे शनिबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्। थाइल्याण्डबाट हवाई मार्ग हुँदै नेपाल आएका उनलाई शंकास्पद यात्रीहरूको पहिचान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनको साथमा रहेको लगेज जाँच गर्दा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर राखिएको अवस्थामा उक्त लागु औषध बरामद भएको हो। प्रहरीले निजको साथबाट ५.५ किलो सेतो हेरोइनका साथै एक थान पासपोर्ट र एक थान मोबाइलसमेत बरामद गरेको छ।

बरामद हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम ४० हजार रुपैयाँका दरले करिब २२ करोड रुपैयाँ हुने र सो हेरोइन भारत पुगेपछि भारतीय बजारमा अझै महँगो पर्ने बताइएको छ। अनुसन्धानका क्रममा उनी लागु औषध कारोबारको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको र उनको साथबाट ‘मेकानिकल इन्जिनियर’ को प्रमाणपत्रसमेत फेला परेको ब्यूरोले जनाएको छ।

पक्राउ पर्नुअघि पनि उनले दुई पटक लाओसबाट नेपाल आई पहिलो पटक हवाई मार्ग र दोस्रो पटक स्थल मार्ग हुँदै भारतसम्म लागु औषध पुर्‍याएको खुलेको छ। उनले यसअघि लाओससहित जिम्बाब्वे, सुडान, बंगलादेश, भियतनाम र कम्बोडिया जस्ता देशहरूको समेत भ्रमण गरिसकेको अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका निज व्यक्तिउपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको कुरा ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ। यसबारे लागु औषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको बताइएको छ।