लुम्बिनी लायन्सको रोमान्चक जित, अन्तिम ओभरमा विराटनगर पराजित

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनी लायन्सको रोमान्चक जित, अन्तिम ओभरमा विराटनगर पराजित

कीर्तिपुर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न २६ औं खेलमा लुम्बिनी लायन्सले विराटनगरमाथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले विराटनगरले दिएको १६७ रनको लक्ष्य १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेको अवस्थामा लुम्बिनीले नाटकीय पुनरागमन गर्‍यो । रुपेश सिंहले बलिङ गरेको २० औं ओभरको पहिलो बलमै (नो बल) अलि शेखले छक्का प्रहार गर्दै खेल लुम्बिनीको पक्षमा मोडेका थिए । १९.४ ओभरमा अलि शेख (१९ बलमा २७ रन) आउट भएपछि क्रिजमा आएका रुबेन ट्रम्पलम्यानले आफूले सामना गरेको पहिलो बलमै (१९.५ ओभर) छक्का प्रहार गर्दै टोलीलाई यादगार जित दिलाए ।

लुम्बिनीको जितमा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै मात्र ११ बलमा ३ छक्का र १ चौकाको मद्दतले अविजित २५ रन जोडे । बलिङतर्फ विराटनगरका रुपेश सिंहले २.५ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए भने इसुरु उडानाले ४ ओभरमा ४२ रन खर्चिए ।