विराटनगरद्वारा लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायसन्सलाई १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

विराटनगरद्वारा लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी २६औँ खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्ससामु १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनायो ।

विराटनगरको इनिङ्स उकास्ने क्रममा श्रीलंकन ब्याटर चरित असलंकाले सर्वाधिक ६४ रनको विस्फोटक अर्धशतकीय इनिङ्स खेले । ४३ बलको सामना गरेका उनले १ चौका र ६ छक्का प्रहार गरे । यस्तै, शुभम रञ्जनेले २४ बलमा ४ चौकाको मद्दतले अविजित ३१ रन जोडे ।

सुरुवाती ब्याटर इमरान शेख २९ बलमा १ छक्कासहित २४ रन बनाएर रिटायर्ड हर्ट भई मैदान बाहिरिए भने लोकेश बमले १५ रन बनाए । तल्लो क्रममा इसुरु उदाना र बसिर अहमदले समान ६-६ रनको योगदान दिए । विराटनगरले अतिरिक्त १९ रन (१) वाइड, (लेग बाई) प्राप्त गरेको थियो ।

अन्तिम ५ ओभरमा आक्रामक ब्याटिङ

पावरप्ले (सुरुवाती ६ ओभर) मा १ विकेट गुमाएर ३८ रन मात्र बनाएको विराटनगरले मध्य ओभरमा सम्हालिएर खेल्दै १४.४ ओभरमा १०० रन पूरा गरेको थियो । अन्तिम ५ ओभरमा ३ विकेट गुमाए पनि विराटनगरले ६४ रन बटुल्दै टोलीलाई बलियो योगफलसम्म पुर्‍यायो ।

लुम्बिनीको बलिङ

लुम्बिनी लायन्सका लागि किशोर महतोले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक २ विकेट लिए । अभिषेश गौतमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट तथा रुबेन ट्रम्पेलम्यानले ४ ओभरमा ५२ रन खर्चेर १ विकेट हात पारे । शेर मल्लले ४ ओभरमा २२ रन दिँदै किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । अब लुम्बिनी लायन्सले जितका लागि २० ओभरमा प्रतिओभर ८।३५ को औसतले १६७ रन बनाउनु पर्नेछ ।