कनेक्टेड संसार, डिस्कनेक्टेड मन

विडम्बना के छ भने, जति धेरै हामी प्रविधिसँग कनेक्टेड भइरहेका छौँ, त्यति नै भित्रभित्रै एक्लोपनको सिकार पनि बनिरहेका छौँ। हातमा आधुनिक स्मार्टफोन त छ, तर मनको बह सुनिदिने र बुझिदिने आत्मीयजनको अभाव खड्किरहेको छ। यस्तो अवस्थामा मनलाई मनसँग कसरी जोड्ने र मानवीय सम्बन्धहरूलाई कसरी जीवन्त एवं अर्थपूर्ण ब

कनेक्टेड संसार, डिस्कनेक्टेड मन

हरेक मानिस संसारमा एक्लै आउँछ र एक्लै जान्छ । जन्मदेखि मृत्युसम्मको यो बीचको यात्रामा हामी सधैँ अरू कसैसँग जोडिन चाहन्छौँ। यो जोडिने चाहना शारीरिक वा भौतिक मात्र होइन, यो त पूर्ण रूपमा आत्मिक र मानसिक हो । अर्थात्, मनलाई मनसँग जोड्ने शाश्वत मानवीय अभिलाषा हो। विज्ञान र प्रविधिले संसारलाई आज एउटा सानो गाउँमा रूपान्तरण गरिदिएको छ। हामी एक क्लिककै भरमा संसारको अर्को कुनामा रहेको मानिससँग श्रव्य-दृश्य माध्यमबाट जोडिन सक्छौँ।

तर, विडम्बना के छ भने, जति धेरै हामी प्रविधिसँग कनेक्टेड भइरहेका छौँ, त्यति नै भित्रभित्रै एक्लोपनको सिकार पनि बनिरहेका छौँ। हातमा आधुनिक स्मार्टफोन त छ, तर मनको बह सुनिदिने र बुझिदिने आत्मीयजनको अभाव खड्किरहेको छ। यस्तो अवस्थामा मनलाई मनसँग कसरी जोड्ने र मानवीय सम्बन्धहरूलाई कसरी जीवन्त एवं अर्थपूर्ण बनाउने भन्ने प्रश्न आजको समाजको सबैभन्दा ठूलो चुनौती र आवश्यकता दुवै बनेको छ।

वास्तवमा, मनलाई मनसँग जोड्नु भनेको केवल दुई व्यक्ति भौतिक रूपमा सँगै बस्नु वा सामान्य गफगाफ गर्नु मात्र होइन। यो त दुईवटा आत्माका बीचमा अदृश्य तर निकै बलियो भावनात्मक पुल निर्माण गर्नु हो। जब दुईवटा मन एकापसमा जोडिन्छन्, त्यहाँ विश्वास, आदर, करुणा र निःस्वार्थ प्रेम प्रादुर्भाव हुन्छ। तर, अर्को मनसँग जोडिनु अघि आफ्नो मन कस्तो छ भनेर बुझ्न झन् बढी जरुरी हुन्छ। जसरी एउटा धमिलो ऐनाले स्पष्ट प्रतिबिम्ब देखाउन सक्दैन, त्यसरी नै अशान्त र अस्पष्ट मनले अर्को मनलाई आत्मसात् गर्न सक्दैन।

हामी धेरैजसो समय अरूले हामीलाई बुझून् भन्ने चाहन्छौँ, तर हामी आफैँले आफ्ना भावना, रिस, ईर्ष्या वा डरलाई बुझ्न र व्यवस्थापन गर्न सकेका हुँदैनौँ। आफ्नो मनलाई सफा र शान्त राख्नका लागि आत्म-साक्षात्कार र आत्म-चेतना आवश्यक छ। जब हामी आफ्ना कमजोरी र भावनाहरूलाई सहज रूपमा स्वीकार गर्छौँ, तब मात्र हामीमा अरूप्रति साँचो सहानुभूति जाग्छ। त्यसैले आफूलाई प्रेम गर्न सिक्नु नै यसको पहिलो सर्त हो, किनभने जो मानिस आफैँसँग खुसी र सन्तुष्ट छैन, उसले अरूलाई खुसी दिन वा अरूको मन जित्न कहिल्यै सक्दैन।

आजको समाजमा सम्बन्धहरूमा दूरी बढ्नुको एउटा प्रमुख कारण हामी सुन्नका लागि सुन्दैनौँ, बरु तुरुन्तै जवाफ फर्काउनका लागि सुन्छौँ। कसैले आफ्नो दुःख पोखिरहँदा हामी उसलाई सान्त्वना दिनुको साटो आफ्नै तर्क वा उपदेश दिन थाल्छौँ, जसले गर्दा अगाडिको मानिसले आफू अपहेलित भएको महसुस गर्छ। मन जोड्ने सबैभन्दा अचुक औषधि सक्रिय श्रवण हो। जब कोही तपाईंसँग कुरा गर्छ, तब आफ्ना सारा व्यस्तता र हातको फोन एकातिर पन्छाएर, उसको भावनालाई महसुस गर्दै सुनिदिनुपर्छ। कहिलेकाहीँ मानिसलाई कुनै ठोस समाधान वा सल्लाह चाहिँदैन, उसलाई केवल एउटा यस्तो मानिस चाहिन्छ जसले उत्सुकतापूर्वक उसको कुरा बिनाकुनै पूर्वाग्रह सुनिदियोस् । कानले शब्द सुन्छ, तर मनले भावना सुन्छ। जब हामी कसैको भावनालाई मनैदेखि सुन्न थाल्छौँ, तब स्वतः नै मनहरू एकापसमा एकाकार हुन पुग्छन् ।

यसका साथै समानुभूति अर्थात् अर्काको दुःख, पीडा वा स्थितिलाई उनीहरूकै दृष्टिकोणबाट बुझ्ने क्षमताले सम्बन्धमा अमृतको काम गर्छ। हामी धैरैजसो समय अरूको व्यवहारलाई आफ्नै मूल्य(मान्यताको कसीमा राखेर मूल्याङ्कन गर्छौँ र उसले यस्तो किन गर्‍यो भन्दै अरूलाई सजिलै दोषी ठहर गर्छौँ। तर, हरेक मानिसको जीवनको पृष्ठभूमि, संघर्ष र परिस्थिति फरक हुन्छ। जब हामी कसैको ठाउँमा आफूलाई राखेर सोच्न थाल्छौँ, तब मनमा रिस होइन, करुणा जाग्छ। कसैको गल्तीमा पनि उसको बाध्यता बुझ्न सक्नु नै मन जोड्ने वास्तविक मन्त्र हो, जसले मानिसहरू बीचको अहङ्कारको पर्खाल भत्काउँछ र हृदयलाई एकापसमा नजिक ल्याउँछ।

कुनै पनि सम्बन्धमा मनहरू तब मात्र जोडिइरहन सक्छन्, जब त्यहाँ विश्वासको बलियो जग हुन्छ। विश्वास कमाउन वर्षौँ लाग्छ, तर गुमाउन एक पल नै काफी हुन्छ। मन जोड्ने यात्रामा मुखमा एउटा र मनमा अर्को कुरा राख्नु सबैभने घातक मानिन्छ। आफ्नो विचार र भावनामा पारदर्शी भई यदि कुनै कुरा मन परेको छैन भने त्यसलाई शिष्ट भाषामा स्पष्ट भन्न सक्नुपर्छ। यस्तो इमानदारिताले सुरुमा थोरै तितोपन ल्याए पनि यसले सम्बन्धलाई दीर्घकालीन र भरपर्दो बनाउँछ । नक्कली व्यवहार र झूटो प्रशंसाले केही समयका लागि मानिसलाई आकर्षित त गर्न सकिएला, तर मन जोड्न कहिल्यै सकिँदैन।

म नै सही हुँ र मेरो विचार नै सर्वोपरि हो भन्ने अहङ्कार मन जोड्ने मार्गको सबैभन्दा ठूलो तगारो बनेर उभिदिन्छ। अहङ्कारले मानिसलाई अन्धो बनाउँछ र सम्बन्धमा केवल आफ्नो फाइदा वा जित मात्र हेर्न सिकाउँछ। जहाँ अहङ्कार हुन्छ, त्यहाँ प्रेम र समर्पण हुन सक्दैन। सम्बन्धमा कहिलेकाहीँ हार्नु पनि जित्नु सरह हुन्छ। यदि आफ्नो थोरै झुकाइ वा एउटा सानो क्षमायाचनाले कुनै सम्बन्ध जोगिन्छ भने, त्यहाँ झुक्न हिचकिचाउनु हुँदैन। मन जोड्नुको वास्तविक अर्थ नै 'म' को संकुचित भावनालाई त्यागेर 'हामी'को फराकिलो भावनालाई अँगाल्नु हो।

आजको व्यावसायिक संसारमा मानिसहरू सम्बन्धमा पनि नाफा-घाटा खोज्छन्। अरूले मेरो लागि के गर्‍यो र मैले उसको लागि किन गर्ने भन्ने संकुचित सोचले मनहरूलाई टाढा धकेल्दै लगेको छ। तर मनलाई मनसँग जोड्नका लागि कुनै ठूलो आर्थिक लगानी वा बहुमूल्य उपहारको आवश्यकता पर्दैन। जीवनका साना-साना कुराहरूले मनमा गहिरो र अमिट छाप छोड्छन्।

बिहान उठेर ओठबाट निस्किएको एउटा न्यानो मुस्कान, दिनभरिको व्यस्तताका बीच प्रियजनको कुशल(मङ्गल सोधेर पठाइने एउटा कल्याणकारी सन्देश, कसैले गरेको सानो सहयोगको लागि हृदयदेखि व्यक्त गरिएको धन्यवाद, अनि बिरामी हुँदा वा दुःखमा पर्दा सँगै छु है भनेर काँधमा राखिएको आडिलो हात नै मन जोड्ने साना तर शक्तिशाली माध्यम हुन्। यी सामान्य लाग्ने व्यवहारहरूले मानिसको मनमा आत्मीय स्थान बनाउँछन् र निःस्वार्थ भावले गरिएको सानो सहयोगले पनि दुई अपरिचित मनलाई सधैँका लागि जोडिदिन्छ।

वर्तमान समयमा हामी सामाजिक सञ्जालमा त हजारौँ भर्चुअल साथीहरूसँग जोडिएका छौँ, तर घरको एउटै कोठामा बस्ने परिवारका सदस्यसँग बोल्न हामीसँग समय छैन।

भर्चुअल संसारले हाम्रो वास्तविक भावनालाई निल्दै गइरहेको अवस्थामा मन जोड्नका लागि प्रविधिको प्रयोगलाई सीमित गर्नु अपरिहार्य भइसकेको छ। बेलुका परिवारसँग खाना खाँदा वा साथीभाइसँग भेट्दा फोनलाई साइलेन्ट गरेर राख्ने र प्रत्यक्ष भेटेर गरिने कुराकानी र हाँसोलाई प्राथमिकता दिँदा सम्बन्धमा नयाँ ऊर्जा थपिन्छ। हप्तामा वा महिनामा कम्तीमा एक दिन डिजिटल उपवास बस्ने र त्यो समय आफ्ना प्रियजनहरूलाई दिने गर्नाले सम्बन्धहरू थप प्रगाढ बन्दछन्।

मानिस भइसकेपछि जीवनमा गल्ती हुनु स्वाभाविक हो र कहिलेकाहीँ हाम्रा प्रियजनहरूबाट पनि त्यस्ता गल्ती हुन्छन्, जसले हाम्रो चित्त दुख्छ। यदि हामी ती पुराना चोट, रिस र गुनासाहरूलाई मनमा गुम्साएर राखिरहन्छौँ भने मनहरू कहिल्यै जोडिन सक्दैनन्। मन त तब मात्र जोडिन्छ जब त्यो रिस र द्वेषबाट मुक्त भएर हलुका हुन्छ।

क्षमा गर्नु भनेको अगाडिको मानिसको गल्तीलाई सही भन्नु होइन, बल्कि आफ्नो मनलाई त्यो रिसको बन्धनबाट मुक्त गर्नु हो। जब हामी कसैलाई मनैदेखि क्षमा गरिदिन्छौँ, तब मनको बोझ उत्रिन्छ, पुराना घाउहरू निको हुन्छन् र फेरि मनहरू जोडिने सुन्दर वातावरण सिर्जना हुन्छ। यससँगै, सधैँ गुनासो मात्र गरिरहने नकारात्मकताको साटो आफ्नो मनलाई सकारात्मक सोचले भर्नु आवश्यक छ। अरूको आलोचना गर्नुको साटो उनीहरूको राम्रो पक्षको प्रशंसा गर्न सिक्दा र संकटको बेला ढाडस दिँदा जुनसुकै मानिस पनि स्वतः नै भावनात्मक रूपमा जोडिन आइपुग्छ।

अन्तमा, मनलाई मनसँग जोड्नु भनेको एक निरन्तर साधना र आत्मीय यात्रा हो। यो कुनै एक दिन वा एक पलमा जादुमयी ढङ्गले हुने कुरा होइन, बरु यसका लागि धैर्यता, समय, समर्पण र निरन्तर प्रयासको आवश्यकता पर्दछ। भौतिक रूपमा नजिक हुनु मात्र सम्बन्ध होइन, तर हजारौँ माइल टाढा भएर पनि एकअर्काको सुख-दुःख महसुस गर्न सक्नु नै वास्तविक मन जोडिनु हो।

आजको यो दौडधूप र व्यस्तताले भरिएको जिन्दगीमा थोरै समय आफ्ना लागि र धेरै समय सम्बन्धहरूका लागि निकाल्नुपर्छ। अहङ्कार, स्वार्थ र शङ्कालाई त्यागेर प्रेम, विश्वास र समानुभूतिको हात अगाडि बढाउँदा, जब हामी खुला हृदयले अरूलाई स्वीकार गर्न तयार हुन्छौँ, तब यो संसारका हरेक मनहरू एकापसमा जोडिनेछन्। फलस्वरूप हाम्रो समाज अझ बढी सुन्दर, शान्त र बस्न योग्य बन्नेछ, जहाँ मनहरू जोडिनेछन् र जीवन अझ बढी सुवासित हुनेछ।

(घिमिरे काठमाडौं महानगरपालिकाका पूर्व निर्देशक हुन् ।)