काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार सम्पन्न रोमाञ्चक खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई सात रनले हराएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको काठमान्डु गोर्खाजले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १८ रनमात्र बनाउन सक्यो । लिग चरणमा आफ्नो अन्तिम खेल खेलेको सुदूरपश्चिम रोयल्स जितसँगै अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
सात खेलबाट १० अंक बटुलेको सुदूरपश्चिम रोयल्सले प्ले–अफ चरणमा स्थान पनि पक्का गरेको छ । काठमान्डु गोर्खाजले भने लिग चरणमा अझै एक खेल खेल्न बाँकी छ ।
काठमान्डु आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । काठमान्डुले लिग चरणमा अन्तिम खेल पोखरा एभेन्जर्ससँग खेल्नेछ । साविक विजेता लुम्बिनी लायन्स पनि यसअघि नै प्ले–अफ चरणमा पुगिसकेको छ । अब प्ले–अफ चरणमा पुग्ने दुई टोलीको मात्र टुंगो लाग्न बाँकी छ ।
सुदूरपश्चिमविरुद्धको खेलमा काठमान्डुका ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे । माथिल्ला पाँच ब्याट्सम्यानको प्रदर्शन निकै खराब रह्यो ।
छैटौं नम्बरमा क्रिज समाल्न आएका रासिद खानले ३१ बलमा पाँच चौकाको मद्दतले ३५ रन बनाए । सातौं नम्बरका ब्याट्र दुसान हेमन्थाले १८ बलमा एक छक्का र एक चौकाको मद्दतले २१ रन जोडे ।
यसबाहेक ओपनर साम हेजलेट ९११ रन० र सन्तोष यादव ९१० रन०ले मात्र दोहोरो अंकमा रन बनाउन सके । काठमान्डुले अतिरिक्त रूपमा २० रन पायो ।
काठमान्डुलाई लक्ष्यसम्म पुग्न नदिन सुदूरपश्चिमका बलरले उत्कृष्ट प्रदर्शन गरे । अनिल खरेलले दुई विकेट लिए । उनले चार ओभरमा केवल १८ रन खर्चिए । स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, सुदूरपश्चिमका ब्याट्सम्यान प्रारम्भदेखि नै काठमान्डु गोर्खाजका बलरको दबाबमा परेका थिए । तीन ओभरको खेल सकिनुअघि नै सुदूरपश्चिमले चार प्रभावशाली विकेट गुमाइसकेको थियो ।
सुदूरपश्चिमले पहिलो ओभरको चौथो बलमै स्कट कुगेलेइन (६ रन)लाई गुमाएको थियो । त्यसलगत्तै, सुदूरपश्चिमले दोस्रो ओभरको तेस्रो बलमा ब्रान्डन म्याकमुलेन (शून्य रन)लाई गुमायो ।
सोही ओभरको पाँचौं बलमा ईशान पाण्डे पनि खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । तेस्रो ओभरको तेस्रो बलमा विनोद भण्डारी (एन रन) पनि आउट भए ।
त्यतिबेलासम्म सुदूरपश्चिम रोयल्सले आठ रनमात्र बनाउन सकेको थियो । त्यसपछि सुदूरपश्चिम निकै दबाबमा परेको थियो ।
सुदूरश्चिम रोयल्सका माथिल्ला चार विकेट काठमान्डु गोर्खाजका बलर जहाँदाद खान र सन्तोष यादवले लिएका थिए ।
त्यसपछि, सुदूरपश्चिमको पालीलाई कप्तान दीपेन्द्र ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरेका थिए । टोली अप्ठ्यारो स्थितिमा रहँदा यी दुई ब्याट्सम्यानले पाँचौं विकेटका लागि ५४ रनको साझेदारी गरे ।
१३औं ओभरमा आरिफ शेख २५ बलमा एक चौकाको मद्दतले १६ रन बनाउँदै दूर्भाग्यपूर्ण तरिकाले रन आउट भएपछि यो साझेदारी तोडिएको थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ५५ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले टोलीका लागि ६० रनको योगदान गरे ।
सातौं नम्बरमा क्रिज समाल्न आएका थारिन्दु रत्नायकेले पनि टोलीको खातामा अविजित २६ रन थपे । उनले २३ बलको सामना गरी तीन चौका पनि हिर्काए ।
दीपेन्द्र र रत्नायकेले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गरे । फाबियन एलन दुई रनमा अविजित रहे । सुदूरपश्चिमले अतिरिक्त रूपमा पनि १४ रन पायो ।
जारी एनपीएलमा दीपेन्द्रले दोस्रो अर्धशतक बनाएका हुन् । उनले पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । उनी सुदूरपश्चिम रोयल्सका लागि अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् ।
दीपेन्द्र एनपीएलको तेस्रो संस्करणमा अर्धशतक बनाउने १६ औं खेलाडी हुन् । जारी एनपीएलमा हालसम्म १९ अर्धशतक बनिसकेको छ ।
दीपेन्द्रका अतिरिक्त, पोखरा एभेन्जर्सका युवराजसिंह सामरा, काठमान्डु गोर्खाजका रासिद खान र विराटनगर किङ्सका लोकेश बमले पनि दुई–दुई अर्धशतक बनाएका छन् ।
प्रारम्भमा आक्रामक देखिएका काठमान्डुका बलरहरुले ‘पावर प्ले’ सकिएपछि भने कुनै कमाल गर्न सकेनन् । जहाँदाद खानले तीन र सन्तोष यादवले दुई विकेट लिए ।

