काठमाडौं । कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौराको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा गएराति उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र पर्ने तारापुर शिविरमा जंगली हात्तीको बथान पसेको थियो। हात्तीको बथानले डगौंराको घरसमेत भत्काएको छ।
उनका श्रीमान् मोहन डगौंराले भागेर ज्यान जोगाएका छन्। अहिले नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोली घटनास्थलमा पुगेको छ।

