काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार गरेको हो । ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन ।
करिब छ सातासम्म चलेको सुनुवाइमा झन्डै १०० जनाले साक्षीका रूपमा बयान दिएको पिपुल पत्रिकाले जनाएको छ । फैसलापछि भट्टले हत्याको अभियोगमा आजीवन कारावाससम्मको सजाय पाउन सक्नेछन् । उनको सजाय निर्धारणका लागि आगामी १२ मार्च २०२७ को मिति तोकिएको छ ।
सुनुवाइका क्रममा भट्टले ममताको शव टुक्र्याएर फोहोरमा फालेको स्वीकार गरेका थिए । तर उनले ममताको हत्या आफूले नगरेको दाबी गरेका थिए ।
एनबीसी वासिङ्टनका अनुसार भट्टले सन् २०२४ जुलाई ३० को बिहान शयनकक्षको भुइँमा ममता अचेत अवस्थामा भेटिएको र उनलाई ब्युँताउने प्रयास गरेको बताएका थिए । करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गर्दा पनि सफल नभएपछि आफू आत्तिएको र प्रहरीलाई खबर नगरेको उनको भनाइ थियो ।
उनले ममताले आत्महत्या गरेको हुन सक्ने दाबी गर्दै आफूलाई दोषी ठहर गरिने डरले शव लुकाएको बताएका थिए । शव फोहोरको भाँडोमा नअटाएपछि आराले टुक्र्याएर विभिन्न झोलामा राखी फालेको उनले अदालतमा स्वीकार गरेका थिए ।
तर सरकारी वकिलहरूले भट्टले नै ममताको हत्या गरेर शव टुक्र्याएको र उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फालेको दाबी गरेका थिए । उनीहरूले भट्टको दाबीलाई पत्याउन नसकिने भन्दै हत्या योजनाबद्ध रूपमा गरिएको तर्क गरेका थिए ।
सुनुवाइका क्रममा सरकारी वकिल सारा सामीले जुरीसमक्ष भनेकी थिइन्, ‘प्रतिवादीले ममता काफ्लेको हत्या गरे । उनले ममता काफ्लेको शव टुक्र्याए र फोहोरजस्तै गरी फालिदिए ।’
सरकारी वकिलहरूले भट्टको बयानलाई ‘बनाइएको पागलपनपूर्ण कथा’ भन्दै विश्वास नगर्न पनि जुरीलाई आग्रह गरेका थिए ।
सरकारी पक्षले भट्टविरुद्धको प्रमाणका रूपमा आरासहित विभिन्न सामग्रीमा भेटिएका रगतजस्ता दाग, कपाल, घरको कार्पेटमा भेटिएको डीएनए, निगरानी क्यामेराका दृश्य र मोबाइल फोनका विवरण प्रस्तुत गरेको थियो ।
भट्टले सन् २०२४ जुनमा होम डिपोबाट एउटा विद्युतीय आरा किनेको देखिने निगरानी क्यामेराको दृश्य अदालतमा पेस गरिएको थियो । उक्त आरामा रातो(खैरो रङका दाग र कपालजस्ता रेसा भेटिएको अनुसन्धानकर्ताहरूले बताएका थिए ।

