काठमाडौं । पर्यटक भिसामा नेपाल आएका १० जना विदेशी नागरिकलाई प्रहरीले निष्काशन गरेको छ।
निष्काशित हुनेहरूमा ५ जना संयुक्त राज्य अमेरिका, २ जना ब्राजिल र ३ जना क्यानडाका नागरिकहरू रहेका छन्। जसमा एकजना नाबालक समेत रहेका र नाबालकलाई उनकै आमा बुवासँगै प्रस्थान गराइने भएको छ।
ति विदेशी नागरिकलाई तीन वर्षसम्म नेपाल प्रवेश गर्न नपाउने गरी निष्काशन गर्ने निर्णय भएको प्रहरीले जनाएको छ।
उनीहरू मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछी स्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा भाग लिन आएका थिए।
पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको उद्देश्य विपरितका कार्य गरी अध्यागमन कानुनको उल्लंघन गरेको कसूरमा जनही रु ५० हजार रुपैयाँ जरिवाना गरी निष्कासन गर्ने निर्णय गरिएको हो।

