काठमाडौं । विराटनगर किंग्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको खेलमा काठमाडौंले विराटनगरलाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो। योसँगै काठमाडौले अंक तालिकामा ४ अंक जोडेको छ।
पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णाली याकसलाई चार विकेटले हराएको थियो। दोस्रो जित हात पारेपछि काठमाडौंसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान चार अंक छ।
लुम्बिनीको सात अंक छ। तीन खेलमा हार भोगेको पोखरा तालिकाको पुछारमा छ। चितवनको तीन अंक छ।
विराटनगरले दिएको ८४ रनको झिनो लक्ष्य काठमाडौंले ९.४ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। दोस्रो विकेटका लागि डेविड वार्नर र विलियम वसिस्टोले ६९ रनको अविजित साझेदारी गरेपछि काठमाडौंले सहज जित निकाल्यो। वार्नर ४४ र वसिस्टो २३ रनमा अपराजित रहे।
वार्नरले २४ बलमा २ चौका र ३ छक्का हाने। वसिस्टोले २४ बलमा ३ चौका मद्दतमा २३ रन बनाए। ओपनर साहिल पटेल १० रन बनाउँदा अपराजित पौडेलको बलमा बोल्ड आउट भए ।

