एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने

एनपिएलको जारी सिजनमा लुम्बिनी अपराजित छ। उसले अहिलेसम्म तीन खेल खेलेकोमा एक खेल रद्द हुँदा बाँकी दुई खेल जितेको छ।

एनपिएलमा आज लुम्बिनीले जनकपुरसँग र विराटनगरले काठमाडौंसँग खेल्ने

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछ। पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको सामना गर्नेछ। त्रिवि मैदानमा पहिलो खेल दिउँसो १ बजे हुनेछ।

एनपिएलको जारी सिजनमा लुम्बिनी अपराजित छ। उसले अहिलेसम्म तीन खेल खेलेकोमा एक खेल रद्द हुँदा बाँकी दुई खेल जितेको छ।

लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको थियो। वर्षाका कारण दोस्रो खेल रद्द भएपछि उसले चितवनसँग अंक बाँडेको थियो।

तेस्रो खेलमा पोखरालाई हराउँदै लुम्बिनी ५ अंक सहित तालिकाको शीर्ष स्थानमा छ।

जनकपुरले चार खेल खेलिसकेको छ। आज ऊ पाँचौं खेल खेल्न लागेको हो। हालसम्म उसले दुई जित र दुई हार ब्यहोरेको छ।

पहिलो खेलमा कर्णालीसँग पराजित हुँदा दोस्रो खेलमा काठमाडौंलाई पराजित गरेको थियो। तेस्रो खेलमा पोखराविरूद्ध विजयी भएको ऊ चौथो खेलमा विराटनगरसँग पराजित भएको थियो।

जनकपुर ४ अंकका साथ चौथो स्थानमा छ। दोस्रो खेलमा साँझ ५ बजे विराटनगर र काठमाडौंबीच खेल हुनेछ।

विराटनगरले पनि चार खेलमध्ये २ जित निकालेको छ। विराटनगर पहिलो खेलमा चितवनसँग र दोस्रो खेलमा कर्णालीसँग पराजित भएको थियो।

तेस्रो खेलमा सुदूरपश्चिम र चौथो खेलमा जनकपुरलाई उसले पराजित गरेको थियो। विराटनगर ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

काठमाडौंले अहिलेसम्म दुई खेलमात्रै खेलेको छ। जनपुरसँगको पहिलो खेलमा पराजित भएको उसले दोस्रो खेलमा कर्णालीलाई हराएको थियो।