क्रिकेटर डेभिड मिलर नेपालमा

३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका थिए ।

क्रिकेटर डेभिड मिलर नेपालमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

उनी आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । मिलरलाई एनपिएल टोली कर्णाली याक्सका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । उनी पहिलोपटक नेपाल आएका थिए ।

कर्णाली याक्सले यस संस्करणका लागि विदेशी खेलाडीका रूपमा मिलरलाई टोलीमा अनुबन्ध गरेको हो ।

बायाँहाते ब्याटर मिलर सीमित ओभरको क्रिकेटमा आक्रामक ब्याटिङ र दबाबपूर्ण परिस्थितिमा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित छन् । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तरराष्ट्रिय खेल खेल्दै दुई शतक र नौ अर्धशतकसहित दुई हजार ८०४ रन बनाएका थिए ।

त्यस्तै, उनले १८० एकदिवसीय अन्तरराष्ट्रिय खेलमा आठ शतक र २४ अर्धशतकसहित चार हजार ७६२ रन बनाए । समग्र टी–२० क्रिकेटमा उहाँको अनुभव अझ प्रभावशाली छ । मिलरले विभिन्न घरेलु तथा फ्रेन्चाइज प्रतियोगिताका ५८४ खेलमा चार शतक र ५३ अर्धशतकसहित १२ हजार ४३५ रन बनाएका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किङ्स, राजस्थान रोयल्स, गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सलगायत टोलीबाट खेलिसकेका मिलर सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक उपाधि जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन्।