भद्रपुर । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन निर्देशन दिएकी छन् ।
जिल्ला प्रशासन कार्यालयमा जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा भूमि शाखाका कर्मचारीसँगको अन्तरक्रियामा उनले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरणको हालसम्मको प्रगति सन्तोषजनक नरहेको धारणा व्यक्त गरिन् ।
मन्त्री रावलले भनिन्, “यतिका दिनसम्मको प्रगति सन्तोषजनक मान्न सकिँदैन । भूमिहीनलाई हजारौँको सङ्ख्यामा पुर्जा वितरण भइसक्नुपर्ने हो, तर अपेक्षित उपलब्धि देखिएको छैन ।”
सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेशमार्फत नीतिगत सुधार गरिसकेको उल्लेख गर्दै उनले कानुनी तथा नीतिगत व्यवस्थामा अझै केही अप्ठ्यारा भए सरकारले सहजीकरण गर्ने बताइन् । समस्या समाधानका लागि सरकार गम्भीर जनाउँदै उनले अब प्रक्रियागत अल्झन देखाएर काममा ढिलाइ गर्न नहुने धारणा राखिन् ।
“जिल्ला भूमि समस्या समाधान समितिलाई प्रशासनिक रूपमा काम गर्न अब कुनै समस्या छ जस्तो मलाई लाग्दैन । सरकार यो समस्या समाधान गर्न दिन गनेर लागि परेको छ”, उनले भनिन्, “त्यसैले परिणाम देखिने गरी कामलाई तीव्रता दिनुहोस् ।”

