शैक्षिक त्रिकोणको सङ्कट र रूपान्तरणको साझा सङ्कल्प

यो दृश्य आजको डिजिटल युगको नेपाली समाजको एक टड्कारो यथार्थ हो, जसले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्यो पवित्र र जीवन्त 'शैक्षिक त्रिकोण' दिनानुदिन भर्चुअल र औपचारिक मात्र बन्दै गएको डरलाग्दो सङ्केत गर्छ ।

शैक्षिक त्रिकोणको सङ्कट र रूपान्तरणको साझा सङ्कल्प

एउटा सात वर्षीय बालक कोठाको कुनामा मोबाइलको स्क्रिनमा एकोहोरिएको छ । उसको अभिभावक सोही कोठाको अर्को कुनामा सामाजिक सञ्जालमा व्यस्त छन्, र भोलिपल्ट कक्षाकोठामा शिक्षक केवल पाठ्यक्रमको भारी सिध्याउने हतारोमा छन् । यो दृश्य आजको डिजिटल युगको नेपाली समाजको एक टड्कारो यथार्थ हो, जसले विद्यार्थी, शिक्षक र अभिभावकबीचको त्यो पवित्र र जीवन्त 'शैक्षिक त्रिकोण' दिनानुदिन भर्चुअल र औपचारिक मात्र बन्दै गएको डरलाग्दो सङ्केत गर्छ ।

प्रविधिको तीव्र विकास, बदलिँदो वैश्विक परिवेश र उपभोक्तावादी जीवनशैलीले हाम्रा स्थापित मूल्य-मान्यताहरूलाई दैनिक रूपमा चुनौती दिइरहेका छन्। यस्तो जटिल र अस्थिर समयमा नयाँ पुस्तालाई सहीँ दिशा निर्देश गर्ने, नैतिक मूल्य सिकाउने र जिम्मेवार नागरिक बनाउने दायित्व केवल कुनै एउटा संस्था वा व्यक्तिको मात्र हुन सक्दैन। शिक्षा क्षेत्रमा जहिले पनि बालबालिकाको चौतर्फी विकास र विद्यालयको गुणात्मक सुधारका लागि तीनवटा आयामलाई प्राथमिक जग मानिन्छ । जसलाई हामी विद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध भन्दछौँ ।

यो सम्बन्ध कुनै कृत्रिम वा प्रशासनिक संयन्त्र मात्र होइन, बरु यो त शिक्षा रूपान्तरणको एउटा जीवन्त र जैविक त्रिकोण हो। यस त्रिकोणको केन्द्रविन्दुमा विद्यार्थी रहन्छन् भने त्यसलाई दह्रो र सुरक्षित सहारा दिने दुईवटा आधार स्तम्भका रूपमा शिक्षक र अभिभावक उभिन्छन् । तर वर्तमान नेपाली शैक्षिक परिवेशमा यो त्रिकोणात्मक सम्बन्ध कतातिर जाँदैछ र यसको सङ्कटले हाम्रो भविष्यलाई कसरी प्रभावित गरिरहेको छ भन्ने विषयमा आज निर्मम समीक्षा गर्नुपर्ने बेला आएको छ।

आधुनिक बालकेन्द्रित शिक्षा प्रणालीले विद्यार्थीलाई केवल कक्षाकोठाको निष्क्रिय स्रोता वा सूचना सङ्कलन गर्ने भाँडोका रूपमा मात्र स्वीकार गर्दैन, बरु उनीहरूलाई ज्ञानको सक्रिय अन्वेषक र सिर्जनशील सहभोगी मान्छ। विद्यार्थी शिक्षा प्राप्तिको मुख्य हकदार हुन् र उनीहरूमा सिक्ने तीव्र इच्छा, अनुशासन र कडा परिश्रम गर्ने तत्परता हुन आवश्यक छ। तर विद्यार्थीको यो क्षमता र सिर्जनशीलता त्यतिबेला मात्र प्रस्फुटन हुन सक्छ, जब उनले विद्यालयमा शिक्षकको स्नेही मार्गदर्शन र घरमा अभिभावकको सन्तुलित संरक्षण प्राप्त गर्दछन्।

शिक्षक केवल पाठ्यक्रम घोकाउने वा परीक्षा उत्तीर्ण गराउने प्राविधिक व्यक्ति होइनन्, बरु उनी त विद्यार्थीको आन्तरिक प्रतिभालाई बाहिर ल्याउने कुशल शिल्पकार र पथप्रदर्शक हुन्। कक्षाकोठाभित्रको वातावरणलाई भयरहित, बालमैत्री र प्रविधिमैत्री बनाउँदै हरेक विद्यार्थीको भिन्न क्षमता र सिकाइको गतिलाई सम्मान गर्नु शिक्षकको मुख्य दायित्व हो। यसै गरी, घर बालबालिकाको पहिलो पाठशाला हो र अभिभावक पहिलो शिक्षक हुन्, जसले जीवनको प्रारम्भिक संस्कार, नैतिकता र व्यवहार सिकाउँछन्। विद्यालय पठाएर वा महँगो शुल्क तिरेर मात्र अभिभावकत्वको दायित्व पूरा हुँदैन, बरु बालबालिकाको मनोवैज्ञानिक आवश्यकता बुझ्नु र उनीहरूलाई गुणात्मक समय दिनु प्राथमिक कर्तव्य बन्न आउँछ।

डिजिटल युगको यो अभूतपूर्व गतिको समयमा अभिभावकत्वको चुनौती एकाएक बहुआयामिक र जटिल बनेको छ। आजका बालबालिका 'डिजिटल नेटिभ'हुन्, जो इन्टरनेट र स्क्रिनको संसारमै जन्मिए र हुर्किए। अर्कोतर्फ, धेरैजसो अभिभावकहरू प्रविधिको यो तीव्र ग्याजेट संस्कृतिको गतिसँग एकाकार हुन नसक्दा एउटा ठूलो ुडिजिटल डिभाइडु वा प्राविधिक खाडल निर्माण भएको छ।

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको अनियन्त्रित पहुँचले बालबालिकालाई भर्चुअल संसारमा त व्यस्त बनाएको छ, तर उनीहरू वास्तविक सामाजिक सम्बन्ध र पारिवारिक संवादबाट टाढिँदै गएका छन्। यस्तो अवस्थामा अभिभावकहरूका अगाडि आफ्ना सन्ततिलाई प्रविधिको कुलत र साइबर असुरक्षाबाट कसरी जोगाउने भन्ने गम्भीर सङ्कट खडा भएको छ। धैरेजसो अभिभावकहरू कि त प्रविधिको अनियन्त्रित छुट दिन्छन् कि त पूर्ण प्रतिबन्ध लगाउँछन्, जुन दुवै आफैँमा प्रत्युत्पादक बनिरहेका छन्। प्रविधिलाई ज्ञान आर्जनको रचनात्मक माध्यम बनाउन र यसको सही सन्तुलन मिलाउन नसक्दा डिजिटल युगमा सकारात्मक अभिभावकत्वको साख र प्रभावकारिता कमजोर बन्दै गएको देखिन्छ।

यस प्रविधिक लहर र सामाजिक बदलावका बीच शिक्षकहरूको पेसागत जवाफदेहितामाथि पनि गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। बदलिँदो जमाना अनुसार शिक्षकहरूले आफ्नो शिक्षण शैली, प्रविधिमैत्री सीप र ज्ञानलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने टड्कारो आवश्यकता छ। तर वर्तमान नेपाली शैक्षिक धरातलमा शिक्षकहरूमा पेसागत निष्ठा र जवाफदेहिताको चरम अभाव खड्किएको महसुस हुन्छ। विद्यालय सेवालाई केवल एउटा जागिर वा जीविकोपार्जनको माध्यम मात्र मानिँदा र कक्षाकोठाभित्र विद्यार्थीको सिकाइ उपलब्धिलाई लिएर चिन्तित नहुने प्रवृत्ति कतिपय शैक्षिक संस्थाहरूको तितो यथार्थ हो।

राजनीति र दलीय आबद्धताका कारण शिक्षकहरू समुदाय र विद्यार्थीप्रति भन्दा आफ्ना राजनीतिक दलहरूप्रति बढी बफादार हुने परिपाटीले शिक्षाको गुणस्तर खस्किएको छ। जबसम्म शिक्षकहरूले शिक्षण पेसालाई एक पवित्र र जिम्मेवार सेवाका रूपमा लिँदैनन् र आफ्ना प्रत्येक विद्यार्थीको शैक्षिक उन्नतिका लागि आफूलाई जवाफदेही ठान्दैनन्, तबसम्म समाजले विद्यालयमाथि भरोसा गर्न सक्ने बलियो आधार हुँदैन। यद्यपि, निराशा र नीतिगत अलमलका बीच नेपालकै केही विद्यालयहरूले त्रिकोणात्मक सम्बन्धको उत्कृष्ट नमूना प्रस्तुत गर्दै उदाहरणीय सफलता हासिल गरेका छन्।

यसको एउटा बलियो उदाहरण कालिका मानवज्ञान माध्यमिक विद्यालय रुपन्देही, काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालय, कास्कीके अमरसिंह माध्यमिक विद्यालयजस्ता केही अगुवा सामुदायिक विद्यालयहरूलाई लिन सकिन्छ। यी विद्यालयहरूले चरम राजनीतिक हस्तक्षेप र साधनस्रोतको अभावलाई चिर्दै शिक्षकहरूको उच्च पेसागत जवाफदेहिता र प्रविधिमैत्री शिक्षण विधिको सुरुआत गरे।

सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूले समुदाय र अभिभावकलाई विद्यालयको हरेक गतिविधिमा प्रत्यक्ष जोडे। नियमित अभिभावक(शिक्षक संवाद, बालमनोविज्ञान परामर्श र डिजिटल स्क्रिन टाइमको सन्तुलित अनुगमन जस्ता अभ्यासका कारण यी विद्यालयहरूले निजी बोर्डिङ स्कुलहरूलाई समेत गुणस्तरमा उछिन्न सफल भए। यी यस्ता ुकेस स्टडीु हुन् जसले के प्रमाणित गर्छन् भने जब नेतृत्व दूरदर्शी हुन्छ र शिक्षक एवं अभिभावकले एकअर्कामाथि औँला उठाउनुको साटो सहकार्यको हात बढाउँछन्, तब सामुदायिक विद्यालयको साख मात्र फर्किँदैन, बरु समतामूलक शिक्षाको सपना समेत साकार हुन्छ।

यस्ता सकारात्मक र व्यावहारिक अभ्यासहरूलाई देशव्यापी रूपमा प्रणालीगत बनाउनु आजको आवश्यकता हो। विद्यालयहरूले केवल नतिजा प्रकाशनका दिन मात्र होइन, बरु नियमित रुपमा अभिभावक र शिक्षकबीच अनौपचारिक र रचनात्मक छलफल गराउने परिपाटी बसाल्नुपर्छ। यसले विद्यार्थीको क्रमिक सुधार, रुचि र समस्याका बारेमा साझा धारणा बनाउन मद्दत गर्छ। धैरेजसो अभिभावकहरूलाई आफ्ना बालबालिकासँग कस्तो व्यवहार गर्ने र उनीहरूको मनोभावना कसरी बुझ्ने भन्ने थाहा नहुन सक्छ, त्यसैले विद्यालय वा स्थानीय तहले अभिभावकहरूका लागि बालमनोविज्ञान, डिजिटल साक्षरता र सकारात्मक अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ। शिक्षकहरूले पनि पुराना परम्परागत, दण्डात्मक र घोकन्ते विधिलाई त्यागेर प्रविधिमैत्री, खेलमुखी र व्यावहारिक शिक्षण विधि अपनाउँदै विद्यालयलाई डरको थलो नभएर रमाइलो सिकाइ केन्द्रका रूपमा विकास गर्नुपर्छ।

अन्त्यमा, विद्यार्थी, शिक्षक र अभिभावक कुनै अलग-अलग टापु होइनन्, बरु एउटै डुङ्गाका यात्री हुन् जसको लक्ष्य बालबालिकाको उज्ज्वल भविष्य र सभ्य समाजको निर्माण गर्नु हो। बालबालिकाको जीवनलाई पूर्णता दिन यो त्रिवेणीको सहकार्य र आत्मीयता अपरिहार्य छ।

शिक्षकको पेसागत जवाफदेहिता, अभिभावकको डिजिटल सचेतना र स्नेहपूर्ण संरक्षण अनि विद्यार्थीको लगनशीलताको सन्तुलित तालमेल नै वास्तविक शिक्षा हो। हामीले आज यो त्रिकोणात्मक सम्बन्धलाई जति बलियो, पारदर्शी र जवाफदेही बनाउन सक्छौँ, भोलिको नेपाली समाज र राष्ट्रको जग उति नै सुरक्षित र समृद्ध हुनेछ। त्यसैले, शैक्षिक रूपान्तरण र सभ्य नागरिक निर्माणका लागि यो त्रिकोणात्मक सम्बन्धलाई सदैव ऊर्जावान्, जनमुखी र मार्गदर्शक बनाइराख्नु नै आजको मुख्य आवश्यकता र समयको माग हो।

(यादव घिमिरे काठमाडौं महानगरपालिकाका पुर्व निर्देशक हुन् ।)