काठमाडौं । बाराको फेटा गाउँपालिका–३ मा दुई पक्षबीचको झडप रोक्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक बालक घाइते भएका छन् । नवनिर्मित १५ शय्याको आधारभूत अस्पताल उद्घाटनका विषयमा शनिबार बिहान स्थानीय दुई समूहबीच विवाद सुरु भएको थियो ।
विवाद बढ्दै गएर उग्ररूप लिएको थियो । विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय १४–१५ वर्षीय आदित्य पासवान घाइते भएका बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।
झडप भएपछि त्यहाँ गोली चलाउनुपरेको उनले जिकिर गरे । “गोली चलेपछि एकजना स्थानीय धर्मेन्द्र पासवानको छोरा १४–१५ वर्षको अन्दाजी आदित्य पासवान भन्नेलाई गोली लाग्यो,” सहायक सीडीओ भट्टराईले भने ।
गोली लागेका बालकलाई पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा लगिएको र त्यहाँ उपचार भइरहेको उनले जानकारी दिए । “त्यो भाइको अपरेसन पनि भइसकेको छ अहिले,” उनले भने, “अपरेसन भएर गोली निकाल्ने काम भइसक्यो र स्वास्थ्य अवस्था स्थिर छ ।”
गोली लागेका बालकको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको उनले बताए ।

