काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथिको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेशको विषयमा छानिबन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकपछि सो पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जो भए पनि कारबाहीको दायरामा आउने बताए ।
“संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही छैन,” उनले भने, “यो कुरामा रवि लामिछाने पनि स्पष्ट छ । आँच आउने कृयाकलाप जसले गरेको छ त्यो सजायको भागिदार हुनुपर्छ । संविधानलाई नै बेवास्ता गर्ने किसिमले जो भए पनि म होस् अर्को होस् कारबाहीको भागिदार हुनुपर्छ ।”
सचिवालय बैठकपछि सो पार्टीका प्रवक्ता जगदिश खरेलले पनि प्रेस स्वतन्त्रतामाथि रास्वपाले हस्तक्षेप नगर्ने बताउँदै भने, “पत्रकार तथा संचारकर्मीको सम्बन्धमा जेजस्तो काम भयो, पक्राउ गर्ने काम भयो । यो किन भयो ? कसरी भयो ? कसले गर्यो ? छानबिन गर्ने र पत्ता लगाउन सरकारलाई स्पष्ट निर्देशन दिएको छ । कारबाही गर्ने सन्दर्भमा परिणाम देखाउन पनि सरकारलाई निर्देशन दिएको छ ।”

