पत्रकार पक्राउ प्रकरणलगत्तै सत्तारूढ रास्वपाले बोलायो सचिवालय बैठक

यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुनविद्‌समेत रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए।

पत्रकार पक्राउ प्रकरणलगत्तै सत्तारूढ रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौं । पत्रकार पक्राउ प्रकरणलगत्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

रास्वपा सभापति रवि लामिछानेले आज शनिबार बिहान ११ बजे बस्नेगरी पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन्।

समसामयिक विषयमा छलफल गर्न भन्दै शुक्रबार राति नेताहरूलाई शनिबार बस्ने सचिवालय बैठकमा सहभागी हुन पार्टीका तर्फबाट म्यासेज पठाइएको रास्वपाका एक नेताले जानकारी दिए।

यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुनविद्‌समेत रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए।

शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो।

यस्तै पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए। मैनाली नभेटिएपछि प्रहरीले नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तसँग अढाई घण्टा गलफती गरेको थियो।

यसको चौतर्फी आलोचना भएपछि सरकार र सरकार नेतृत्वकर्ता रास्वपा दुवैले पत्रकार पक्राउका विषयमा आफूहरूलाई कुनै जानकारी नभएको दाबी गर्दै वक्तव्य जारी गरेका थिए।