काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कानुनी पृष्ठभूमि भएका पार्टीका सांसदसहितका नेतासँगको छलफलमा जुटेका छन् । रास्वपाका एक नेताका अनुसार पछिल्लो समय देखिएका न्यायाधीश प्रकरणसहितका विषयमा छलफल गर्न रविले ती सांसद र नेताहरूलाई बोलाएका हुन् ।
छलफलमा कानुनमन्त्रीसमेत रहेकी सोविता गौतम, सांसद यज्ञमणि न्यौपानेसहितका नेता सहभागी भएको बुझिएको छ । पछिल्ला केही दिनयता बिचौलिया इनम सापकोटाले सर्वोच्च अदालतका केही न्यायाधीशसँग गरेको संवाद बाहिरिएको थियो ।
सापकोटाले प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'को समेत नाम लिएर न्यायाधीशहरूसँग भेटघाट गरेका थिए । प्रधानन्यायाधीश मनोजकुमार शर्मासमेत विवादमा आएपछि सभापति लामिछाने आन्तरिक संवादमा जुटेका हुन् । उनले गत बुधबार प्रधानमन्त्री शाहसँग निवासमै घण्टौँ छलफल गरेका थिए । बिहीबार उनले सभामुख डीपी अर्यालसँग भेट गरेका थिए ।
विवादमा आएका न्यायाधीशको विषयमा महाअभियोगमा गए कसरी जाने भन्नेमा रास्वपामा छलफल भएको बुझिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले आफूसहित धेरै न्यायाधीशले बिचौलिया सापकोटासँग भेटेको अन्तर्वार्ता दिइरहेका छन् । उनले आफूले प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएपछि उनी पक्राउ परेको दाबी फुयाँलले गरेका छन् ।

