संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाएका छन् ।

संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

म्याग्दी । कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहेका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम व्यवस्थापिका संसद् र पहिलो संविधानसभाका सदस्य रहेका श्रीस अहिले कृषि उद्यममा रमाएका छन् । दुई दशकभन्दा बढी राजनीतिमा सक्रिय उनी अहिले बाख्रापालन, सुन्तला खेती र मौरीपालनमा व्यस्त छन् । गाउँ फर्किएर कृषि उद्यममा लागेका श्रीसले आफ्नै श्रम र लगानीबाट स्वरोजगारको बाटो रोजेका हुन् ।

उनले श्रीस कृषि तथा पशुपन्छी फार्म स्थापना गरेर कृषि कर्म सुरु गर्नुभएको थियो । अहिले फार्ममा बाख्रापालन, सुन्तला खेती र मौरीपालन भइरहेको छ । उनका अनुसार कृषिमा आधारित उद्यम पहाडी क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने राम्रो माध्यम हो ।

“नागरिकको अवस्था सुधार, आर्थिक तथा सामाजिक रूपान्तरण र रोजगारी सिर्जनाका लागि कृषिमा आधारित उद्यमशीलता प्रमुख आधार हो,” श्रीसले भने, “पहाडी क्षेत्रमा आत्मनिर्भरता र स्वरोजगारको सम्भावना देखाउन आफैँ अग्रसर भएको हुँ ।”

दुईवटा बाख्रा रु एक लाख लगानीबाट उहाँले छ वर्षअघि व्यवसाय सुरु गरेका थिए । अहिले फार्ममा ३० बाख्रा छन् । वार्षिक १५ देखि २० वटासम्म खसीबोका बिक्री गर्नुहुन्छ । खरी र जमुनापारि जातका बाख्रा पालेका उनले व्यावसायिक पशुपालनलाई निरन्तरता दिए । सुरुमा बाख्रापालन सहज भएन । ताराखोलाबाट किनेर ल्याएका बाख्रालाई स्थानीय हावापानी अनुकूल नभएपछि क्षति बेहोर्नुप¥यो । तर, उनले हिम्मत हारेनन्। व्यवसायलाई निरन्तरता दिए । अहिले उनको फार्म व्यवस्थित बनेको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा आधुनिक खोर निर्माण गरे । बाख्रापालनसँगै उनले सुन्तला खेतीलाई पनि विस्तार गरे । परम्परागत खाद्यान्न खेती हुँदै आएको खेतबारीमा ३५० वटा सुन्तलाका बोट लगाएका छन् । ती बोटले उत्पादन दिन थालेका छन् । खाली जमिनमा बाख्राका लागि आवश्यक घाँस पनि लगाएका छन् । यसले पशुपालनलाई सहज बनाएको छ ।

उनले मौरीपालन सुरु गरेका छन् । अहिले उनीसँग १६ वटा मौरीका घार छन् । सिचाइका लागि निर्माण गरेको पोखरीमा माछा पाल्न थालेका छन् । मङ्गला गाउँपालिकाले मौरीपालनसम्बन्धी तालिम, प्राविधिक सहयोग र घार खरिदमा अनुदान दिएको छ ।

श्रीसको कृषि यात्राले व्यक्तिगत आम्दानीमा मात्र सीमितता राखेको छैन । उनको अगुवाइमा नमूना कृषक समूह गठन भएपछि बरंजाका १५ घरपरिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । यसले गाउँमा कृषि उद्यमप्रतिको आकर्षण बढाएको छ ।

बरंजाका किसान बाख्रापालनसँगै सुन्तला खेती र गाईभैँसीपालनमा संलग्न छन् । उनीहरूले उत्पादन गरेको दूध तातोपानी र बेनी बजारमा बिक्री गर्दै आएका छन् । स्थानीयस्तरमै उत्पादन र बजारको सम्भावना देखिएकाले कृषिलाई आम्दानीको स्रोत बनाउन सकिने श्रीसको विश्वास छ ।

सुन्तला खेती विस्तार र बगैँचा व्यवस्थापनमा उनले सहयोग पाएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यालयले श्रीससहित बरंजाका किसानलाई सुन्तला खेती विस्तार, बगैँचा सुदृढीकरण र सिँचाइ सुविधा विस्तारमा सहयोग गरेका छन् ।