काठमाडौं । सोमबारदेखि सुरु हुने तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुरक्षाका लागि झण्डै १४ सय प्रहरी परिचालन गरिने भएको छ। जिल्ला सुरक्षा समितिले नेपाल क्रिकेट संघ (क्यान) सँगको समन्वयमा सुरक्षा योजना तयार पारेको हो।
एनपीएललाई लिएर सुरक्षा समितिको पूर्वतयारी बैठक आइतबार साँझ बसेको छ। यो बैठकमा फिल्डमा खटिने सबै टोलीका कमान्डरलाई पनि सहभागी गराएर ब्रिफिङ गरिएको छ। यसअघि पनि पटकपटक क्यानका पदाधिकारीसहितको बैठक बसेर सुरक्षा योजना बनाइएको थियो।
दुवै प्रहरीले सोही अनुसारको तयारी गरेका छन्। निजी सुरक्षा कम्पनीलाई भित्रको व्यवस्थापनमा मुख्य जिम्मेवारी दिइएको छ। त्यसका लागि करिब तीन सय सुरक्षा गार्ड खटाइनेछ। तर निजी सुरक्षा गार्डसँगै चुस्ताबिना र सादा पोसाकमा नेपाल प्रहरी पनि खटिनेछ।
नेपाल प्रहरीले आफ्नो जिम्मेवारीमा पर्ने २४ किसिमका ड्युटीका लागि एक हजार जना प्रहरी परिचालन गर्ने भएको छ।सबै गेटमा चेकजाँचका लागि नेपाल प्रहरी खटिने छ भने रंगशालाभित्र पनि सबै जोनमा प्रहरी परिचालन हुनेछन्। तर भित्र भने यसपटक बर्दी लगाएका र हतियारसहितका प्रहरी खटिने छैनन्।
भित्र खटिने प्रहरी सादा पोसाक र अफिसियल सर्ट–प्यान्टमा हुनेछन्। यसअघिका खेलमा भने चुस्तामै प्रहरी खटाइँदै आएको थियो। तर अन्तर्राष्ट्रिय अभ्यास र क्यानसँगको छलफलका आधारमा यसपटक बर्दीमा प्रहरी नखटाउने निर्णय भएको हो। नेपाल प्रहरीले एनपीएलमा २४ किसिमका ड्युटी गर्ने काठमाडौँका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए।
प्रहरीले रंगशालामा सीसीटीभी र ड्रोनबाट पनि निगरानी गर्नेछ। खेल हुनुपहिले रंगशालामा डग स्निफिङ गरिनेछ।
‘ड्रोनको प्रयोग गर्छौँ। केनाइन (डग स्निफिङ) को काम हुन्छ। पेरिमिटरभन्दा बाहिर रिजर्भहरूको व्यवस्थापन हुन्छ। सबै टिम बस्ने होटलमा खटिन्छ। बाटोमा एस्कोर्टिङ हुन्छ। खेलाडी लैजाँदा ट्राफिक व्यवस्थापनका लागि छुट्टै टोली तैनाथ हुन्छ,’ एसपी थापाले भने, ‘यसका लागि हामीले छुट्टाछुट्टै रुपमा अधिकृतहरूको कमान्डमा टोली परिचालन गर्छौँ। टोलीले यसको अभ्यास मूलपानी र टीयूमा गरिसकेका छन्।’
जिल्ला प्रहरी परिसर काठमाडौँले उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रधान कार्यालयको निर्देशन र समन्वयमा टोली परिचालनको योजना बनाएको छ।
ललितपुरका होटलमा बस्ने टोलीको सुरक्षाका लागि ललितपुरबाटै टोली परिचालन हुनेछ। होटलबाट रंगशालासम्म पुर्याउँदा एस्कोर्टिङसहित लगिनेछ।
हरेक फ्रेन्चाइज टोलीसँग समन्वय गर्न छुट्टाछुट्टै प्रहरी अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ। टीयू क्रिकेट मैदानमा हुने सुरुक्षा कीर्तिपुर वृत्तका डीएसपीको कमान्डमा हुनेछ। तर त्यहाँ जिल्ला प्रहरी परिसर काठमाडौँबाट पनि थप डीएसपीलाई खटाइनेछ।
आवश्यक परे एसपी र एसएसपी समेत फिल्डमा खटिन सक्नेछन्। नेपाल प्रहरीले रंगशाला प्रवेश गर्ने सबै गेटमा सुरक्षा चेकजाँचसँगै नियन्त्रण गर्नेछ। रंगशालामा के लैजान पाइने, के नपाइने भन्ने निर्देशिका बनाइएको छ। उक्त कुरा कार्यान्वयनका लागि पनि प्रहरी खटिनेछ। खेलाडीको सुरक्षादेखि सबै जोनमा प्रहरी खटिनेछ।
बाहिरी सुरक्षामा सशस्त्र प्रहरीले ७ वटा टोली परिचालन गर्ने भएको छ। सशस्त्र प्रहरीका ५ वटा प्लाटुन विभिन्न ठाउँमा रहनेछन्। राधास्वामीमा सशस्त्र प्रहरीको रिजर्भ टोली रहनेछ। सशस्त्र प्रहरीले रंगशालाबाहिर मोबाइल गस्ती पनि गर्नेछ। साथै सुरक्षाका लागि ड्रोन र सीसीटिभीबाट पनि निगरानी गरिनेछ ।

