काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोसी नदीमा गुडिरहेको ओबीएम कम्पनीको मोटर बोट ब्रेक फेल भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना नदीमा बेपत्ता भएका छन्।
भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना यात्रु बोकेर सुनसरीको चतरातर्फ जाँदै गरेको उक्त बोट दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी बराहक्षेत्र सुनसरीबाट खटिएको प्रहरी टोलीले चालकसहित १२ जनाको जीवितै उद्धार गरी उपचारका लागि चतरा अस्पताल पठाएको थियो।
अस्पताल पुर्याइएकामध्ये सुनसरीको बराहक्षेत्र–१ की ५२ वर्षीया लिला राई, करिब ६र७ वर्षीया एक बालिका र अन्दाजी ४०र५० वर्षका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालिका र पुरुषको नाम तथा ठेगाना अझै खुल्न सकेको छैन।
दुर्घटनामा परेर घाइते भएका भोजपुर हतुवागढी–४ का ३१ वर्षीय मोहन सुनारको चतरा अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको छ।
पानीबोटका चालक सुनसरी बराहक्षेत्र–१ बस्ने २४ वर्षीय सुमन मगरलाई प्रहरी चौकी बराहक्षेत्रले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा सकुशल रहेका अन्य यात्रुहरू विष्णु सुनार, तिर्था रसाईली सुनार, पुजा तिरुवा, प्रज्वल तिरुवा, देबेन्द्र राई, रन्जित राई र निता मगर भने घर फर्किसकेका छन्।
उता दुर्घटनापछि नदीमा बेपत्ता भएका झापा कनकाई–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरी बराहक्षेत्र–१ की २१ वर्षीया प्रमिला मगर र सोही स्थानकी २२ वर्षीया मनु राईको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरी र धनकुटाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सहितको उद्धार टोली परिचालन गरी बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

