बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने

सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ।

बेनी–जोमसोम–कोरला सडक : पुनर्निर्माण गर्न ४ अर्बसम्म खर्च लाग्ने

म्याग्दी । पछिल्लो मनसुनमा आएको बाढी र पहिरोले चीनसँगको कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकलाई नराम्ररी क्षति पुर्‍याएको छ।

सडकका विभिन्न संरचनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। क्षतिग्रस्त सडकलाई पुरानै अवस्थामा फर्काउन भने तीनदेखि चार अर्ब रुपैयाँसम्म खर्च गर्नुपर्ने देखिएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी, नदी कटान र ठाउँठाउँमा खसेको पहिरोले सडकको अवस्था बिगारेको हो। बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार बाढीले सडकका विभिन्न भाग बगाउनुका साथै पहिरोले दर्जनौँ स्थानमा संरचना भत्काएको छ।

योजना प्रमुख तेजस्वी शर्माका अनुसार कालीगण्डकी नदीको कटानले १० स्थानमा सडक बगाएको तथा भत्काएको छ भने अन्य ५० स्थानमा पहिरोले क्षति पुर्‍याएको छ। प्रारम्भिक अनुमानमा ८० देखि ९० करोड रुपैयाँ बराबरको क्षति देखिएको छ। तत्काल सामान्य मर्मत गरेर दुई साताभित्रै सडक सञ्चालनमा ल्याइए पनि दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने उनको भनाइ छ।

शर्माका अनुसार सडकलाई सुरक्षित र दिगो रूपमा पुनर्निर्माण गर्न पहिरो नियन्त्रण, नदी कटान रोक्ने संरचना निर्माण र सडकको सतह सुधार गर्नुपर्नेछ। म्याग्दी खण्डमा यसअघि गरिएको डिबिएसडी कालोपत्रलाई समेत अक्सफाल्ट पिचको निर्धारित स्वरूपमा स्तरोन्नति गर्नुपर्ने भएकाले पुनर्निर्माणको लागत बढ्ने अनुमान गरिएको छ।

पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङको कोरला नाकासम्म फैलिएको २०२ किलोमिटर लामो सडकको सबैभन्दा बढी क्षति म्याग्दी खण्डमा भएको छ। यस खण्डको करिब ३३ किलोमिटर सडक बाढी, पहिरो र कटानबाट प्रभावित भएको छ। विगतमा जोखिमपूर्ण मानिएका स्थानमा मात्रै नभई पहिले सुरक्षित ठानिएका क्षेत्रमा समेत नयाँ पहिरो खस्ने र नदीले सडक काट्ने समस्या देखिएको छ।

सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले यो सडक निर्माण सुरु भएयताकै सबैभन्दा ठूलो क्षति पछिल्लो विपद्बाट भएको बताएका छन्।