काठमाडौं । धादिङ र गोरखालाई जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमा नेपाली सेनाले दुई दिनमै बेलिब्रिज जडान गरेको छ।
बाढीले पक्की पुलको एक खण्ड बगाएपछि अवरुद्ध बनेको आवागमनलाई सहज बनाउन सेनाले वैकल्पिक पुल निर्माण गरी गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको हो।
गत असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पुलको गोरखातर्फको भाग बगाएपछि यस क्षेत्रको यातायात आवागमन प्रभावित भएको थियो। त्यसपछि सेनाले असोज ३१ गतेदेखि बेलिब्रिज जडानको काम सुरु गरेको थियो।
आवश्यक प्राविधिक काम तीव्र गतिमा अघि बढाउँदै सेनाले दुई दिनमै पुल तयार पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नवनिर्मित बेलिब्रिजको लम्बाइ २७.४३ मिटर र चौडाइ ४.२ मिटर छ। पुल जडान सम्पन्न भएपछि सेनाले आज उक्त संरचना गोरखा सडक आयोजनालाई हस्तान्तरण गरेको हो।
बेलिब्रिज सञ्चालनमा आएसँगै धादिङ र गोरखाका स्थानीय बासिन्दालाई नदी वारपार गर्न सहज भएको छ। बाढीका कारण प्रभावित बनेको यातायात सेवा पुनः सञ्चालन गर्न वैकल्पिक पुलले महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पुल सञ्चालनमा आएपछि बाढी प्रभावित क्षेत्रसम्म राहत सामग्री, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तु पुर्याउनसमेत सहज हुने सेनाको विश्वास छ। छोटो समयमै पुल निर्माण गरी आवागमन सहज बनाएको भन्दै स्थानीय बासिन्दाले नेपाली सेनाको कामको प्रशंसा गरेका छन्।

