राष्ट्र बैंकले दसैं अघि १ खर्ब रुपैयाँ बजारमा पठायो

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक अनुज दाहालका अनुसार अहिले बजारमा चलनचल्तीमा रहेको कुल चलनचल्तीका मुद्रा (ग्रस करेन्सी इन सर्कुलेसन) करिब ९ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।

राष्ट्र बैंकले दसैं अघि १ खर्ब रुपैयाँ बजारमा पठायो

काठमाडौं । बडादसैंको अवसरमा यस वर्ष बजारमा करिब १ खर्ब रुपैयाँ बराबरको थप नगद प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार दसैं लक्षित खर्च, लामो सार्वजनिक बिदा तथा हालैको बाढी–पहिरोलगायतका कारण यस वर्ष बजारमा चलनचल्तीका मुद्रा (करेन्सी इन सर्कुलेसन) उल्लेख्य रूपमा बढेको हो ।

नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक अनुज दाहालका अनुसार अहिले बजारमा चलनचल्तीमा रहेको कुल चलनचल्तीका मुद्रा (ग्रस करेन्सी इन सर्कुलेसन) करिब ९ खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।

असोज १ गतेसम्म कुल चलनचल्तीको मुद्रा ८ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरू र बैंकिङ विभागको ढुकुटीमा रहेको रकम घटाउँदा (नेट करेन्सी इन सर्कुलेसन) असोज १ मा ७ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा हाल त्यो बढेर करिब ८ खर्ब ९५ देखि ९६ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

यस हिसाबले दसैंको अवधिमा मात्रै बजारमा करिब ९७ देखि ९८ अर्ब (झन्डै १ खर्ब) रुपैयाँ थपिएको छ । विगतका वर्षहरूमा दसैैका बेला ३५ देखि ५० अर्ब रुपैयाँसम्म मात्रै थपिने गरेकोमा यसपालि यो वृद्धि निकै उच्च हो ।

दसैंमा दक्षिणा तथा पूजाआजाका लागि प्रयोग हुने साना दरका (५, १०, २०, ५० र १०० रूपैयाँ) नयाँ तथा सुकिला नोटको वितरण पनि उत्साहजनक देखिएको छ । बिहीबारसम्म १५ अर्ब १३ करोड रुपैयाँ बराबरका साना दरका नोट सटही भइसकेको र अन्तिमसम्म यो आँकडा साढे १५ अर्बदेखि १६ अर्ब रुपैयाँको छेउछाउ पुग्ने कार्यकारी निर्देशक दाहालले बताए ।

दसैंमा बजारमा गएको यो रकम विभिन्न खर्च, किनमेल, तथा उपभोग्य कारोबार हुँदै तिहारपछि पुनः बैंकिङ प्रणालीमै फिर्ता ९डिपोजिट० हुने उनको भनाइ छ ।