बडिगाड । खड्ग जयन्ती युवा क्लबको १५औँ वार्षिकोत्सव तथा बडादसैँको फूलपाती मेलाको अवसरमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा ग्रामीण क्षेत्रका नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। स्थानीयस्तरमै विशेषज्ञ सेवा तथा परीक्षण सुविधा प्राप्त भएपछि सर्वसाधारण हर्षित भएका छन्।
शिविरमा कुल १४० जना सेवाग्राहीले प्रत्यक्ष स्वास्थ्य सेवा तथा परामर्श प्राप्त गरेका छन्। जसमध्ये ११७ जनाको रगत परीक्षण गरिएको थियो भने १०७ जनालाई आवश्यक निःशुल्क औषधि वितरण गरिएको क्लबले जनाएको छ।

ग्रामीण भेगका महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरमा संवेदनशील तथा महत्वपूर्ण सेवाहरू समेत प्रदान गरिएको थियो। जसअन्तर्गत ७३ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ भने ७ जना गर्भवती महिलाको भिडियो एक्सरे सेवा सम्पन्न भएको छ।
शिविरलाई सफल बनाउन बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसी, डा. पवन मल्ल, जनस्वास्थ्य निरीक्षक हेमबहादुर पुन, सामाजिक मनोपरामर्शकर्ता एन्जली छन्त्याल लगायत स्टाफ नर्स तथा स्वास्थ्यकर्मीहरूको टोलीले प्राविधिक तथा परामर्श सेवा प्रदान गरेको थियो।

आयोजक खड्ग जयन्ती युवा क्लबले अहोरात्र खटिएर सेवा प्रदान गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीको टोली, उपस्थित सेवाग्राही तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेको छ।

