मोरङमा प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी

घाइते चौधरी र उनीसँगै रहेका भारत अररिया जिल्ला महगामा ग्राम पंचायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पक्राउ परे ।

मोरङमा प्रहरीले गोली चलाएर समात्यो गाँजा कारोबारी

काठमाडौं । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति मोरङको रतुवामाई नगरपालिका– ५ गोबिन्दपुरमा गाँजा कारोबारी पक्राउ गर्न गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । करिब १०० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

मोरङ प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार असोज २९ गते दिउँसो करिब १ बजे रतुवामाई नगरपालिका– ५ गोबिन्दपुर स्थित बक्रा खोलाको बगरमा बेवारिसे अवस्थामा २६४‍.५९ किलो गाँजा बरामद भएको थियो । सो स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने सूचनापछि इलाका प्रहरी कार्यालय सिजुवाबाट राति गस्ती टोली खटिएको थियो । राति करिब ९ः२५ बजे केही मानिसहरू गाँजा बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीसँग जम्काभेट भयो ।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाँजा बोकेकाहरु भाग्न खोजेपछि सुरुमा १ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायर गर्दा पनि नरोकिएपछि प्रहरीले फेरि चलाएको गोली भारतको अररिया जिल्ला जोगबनीका ३९ वर्षीय प्रमोद चौधरी देब्रे खुट्टाको पिँडुलामा लाग्यो ।

घाइते चौधरी र उनीसँगै रहेका भारत अररिया जिल्ला महगामा ग्राम पंचायतका ५० वर्षीय राजेन्द्रप्रसाद यादव पक्राउ परे ।

प्रहरीले उनीहरुको साथबाट करिब १०० किलो गाँजा पनि बरामद गरेको छ । घाइते चौधरीको अवस्था सामान्य छ । दुवैमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।