काठमाडौं । नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा अब खरिदकर्ताहरू स्वयं यातायात व्यवस्था कार्यालय धाउनु नपर्ने भएको छ । सरकारले ‘यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६०’ संशोधन गर्दै सवारी दर्ता र नामसारी प्रक्रियालाई सहज बनाएको हो।
यातायात व्यवस्था विभागका अनुसार, मन्त्रीस्तरबाट असोज २६ गते भएको निर्णयअनुसार निर्देशिकाका केही प्रावधानहरू संशोधन गरिएको हो । विभागले पत्राचार गर्दै उक्त निर्णय कार्यान्वयनका लागि मातहतका कार्यालय तथा सम्बन्धित सबैलाई सूचित गरेको छ।
संशोधित व्यवस्थाअनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका क्रममा पहिलो पटक नामसारी गर्दा डिलरले कार्यालयमा गराएको चेकजाँचलाई नै मान्यता दिइनेछ । यससँगै खरिदकर्ताले पुनः यातायात कार्यालयमा पुगेर सवारी जाँच गराउनुपर्ने झन्झट हटेको छ।
त्यस्तै, सवारी खरिदकर्ता यातायात कार्यालयमा भौतिक रूपमा उपस्थित हुन नसकेको अवस्थामा वारेसनामा मार्फत पनि दर्ता र नामसारी गर्न सकिने व्यवस्था गरिएको छ । यसका लागि खरिदकर्ताको वारेसनामा, वारेस पाएको व्यक्तिको सक्कल परिचयपत्र तथा खरिदकर्ताको फोटो र सक्कल परिचयपत्रसहित वारेस प्राप्त व्यक्ति कार्यालय पुगेमा काम सम्पन्न हुने विभागले जनाएको छ।
यसैगरी, सवारी साधनको बिमा गर्न वा बिमा नवीकरणका लागि समेत अब सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुनुपर्ने छैन । विभागले नामसारी प्रक्रियालाई डिजिटल प्रविधिसँग जोड्ने तयारी समेत गरेको छ। विभागद्वारा भीआरएस प्रणालीमा प्राविधिक व्यवस्था मिलाइएपछि सवारी बिक्रेता, वितरक वा कम्पनीले पूर्वाधार जुटाएर माग गरेमा एकद्वार पहुँचमार्फत बायोमेट्रिक लिन मिल्ने गरी प्राविधिक पहुँच उपलब्ध गराइने भएको छ।
विभागका निर्देशक मणि राम भुसालद्वारा जारी सूचनामा मन्त्रीस्तरीय निर्णयानुसार संशोधित व्यवस्था तत्काल लागू गर्न र सोही अनुरूप सेवा प्रवाह गर्न निर्देशन दिइएको छ।

