बूढीगण्डकीमा बाढी : बेपत्ता हुने ५ जनाको परिचय खुल्यो

पहिरोले उङ्गिलुङ खोला थुनिएकै कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको हो । उङ्गिलुङ खोला स्यार खोला हुँदै बूढीगण्डकीमा मिसिन्छ ।

बूढीगण्डकीमा बाढी : बेपत्ता हुने ५ जनाको परिचय खुल्यो

काठमाडौं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढीका कारण गएको पहिरोमा परि पाँच जना सम्पर्कविहीन भएका छन् ।

सोही क्षेत्र आसपास भेडीगोठमा बस्दै आएका चुमनुब्री गाउँपालिका–६ चुम्चेतका ६५ बर्षीय सोनाम लामा, उनकी श्रीमती ५९ बर्षीया लाक्पा थोर्मा लामा, ६६ बर्षीया सोम भुटी लामा, ६८ बर्षीय कर्मा लामा र ४१ बर्षीय तेन दोर्जे लामा सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार पहिरोले सो क्षेत्रमा रहेको चार वटा भेडीगोठ र त्यहाँ रहेका करिव डेढ सय पशुचौपाय बगाएको छ । ‘चार परिवारको चार वटा भेडीगोठ रहेछ,’ उनले भने, ‘त्यो सबै लगेको छ, गोठमा बस्ने पाँच जना सम्पर्कविहीन छन् ।’

पहिरोले उङ्गिलुङ खोला थुनिएकै कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको हो । उङ्गिलुङ खोला स्यार खोला हुँदै बूढीगण्डकीमा मिसिन्छ । पहिरोले थुनिएको उङ्गिलुङ खोला एक्कासी खुल्दा बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएर वितण्डा मच्चाएको हो ।