प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौँको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनापछि प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दाहालले विद्यालयमा कार्यरत महिला शिक्षिकालाई लक्षित गरी अपशब्द तथा अश्लील शब्द प्रयोग गर्ने, जथाभावी गालीगलौज गर्ने र धाकधम्की दिने जस्ता अभद्र व्यवहार गरेका थिए । सोही क्रममा घिमिरेको निर्देशनमा विद्यालयका प्रधानाध्यापकमाथि मुक्का तथा लात्ती प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडैंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुवै जना विरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरीले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।