काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीबाट माछीखोलाबजारमा क्षति भएको छ। आरुघाटको सोती र मान्बु जोड्ने पुल पनि बगेको छ ।
उङगिलुङ खोला किनारका चार वटा गोठ, त्यहाँ बाँधिएका १५ वटा याक र नाक बगेका छन् भने पशुको हेरचाहमा बसेका चार जना गोठाला पनि सम्पर्कविहीन छन्।
त्यसैगरी चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।
चुमनुब्री गाउँपालिका–३ का बजारमा बाढीबाट धेरै क्षति भएको छ। आइतबार बिहान ४ बजे ती गाउँमा बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए।
बाढीको जोखिमलाई ध्यानमा राखेर सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले जानकारी दिए।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन भने क्षतिको विस्तृत विवरण पनि प्राप्त हुन बाँकी छ।
नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन भइसकेको जानकारी दिएको छ।
चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण थुनिएको बुढीगण्डकी नदीले पहिरोको अवरोध खोली लेदो तथा गेग्रानसहित आकस्मिक रुपमा ठूलो बाढी आएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिएका छन्।
प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गर्नुका साथै पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
काठमाडौँमा रहेको संयुक्त द्रुत उद्धार टोलीसमेत हवाई साधनबाट बाढी प्रधावित क्षेत्रमा पुगेको छ।
नेपाली सेनाबाट खटिएको फौजले नदी तटीय तथा आसपासको इलाकामा रहेका स्थानीयलाई सुरक्षित एवम् उच्च स्थानमा जान आग्रह गरिरहेको छ।

