धादिङको गलौंदीमा भासिएको सडकको कटिङ सुरू, साँझसम्म सडक खुल्ने

लौंदीमा नदीतर्फ त्रिशूलीले कटान गरी सडक भासिएको हो । सँगै गाउँ जोड्ने स्थानीय सडक भएकाले त्यहाँ ब्याक कटिङ गर्न स्थानीय निकायबाट अवरोध भएकाले समयमै सुरु गर्न नसकिएको विभागको भनाइ छ ।

धादिङको गलौंदीमा भासिएको सडकको कटिङ सुरू, साँझसम्म सडक खुल्ने

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी नजिकैको गलौंदीमा भासिएको सडक खण्डमा ब्याक कटिङको काम सुरु गरिएको छ । कुनै समस्या नभए ८ घण्टाभित्र सडक खुल्ने सडक विभागले जनाएको छ ।

गलौंदीमा नदीतर्फ त्रिशूलीले कटान गरी सडक भासिएको हो । सँगै गाउँ जोड्ने स्थानीय सडक भएकाले त्यहाँ ब्याक कटिङ गर्न स्थानीय निकायबाट अवरोध भएकाले समयमै सुरु गर्न नसकिएको विभागको भनाइ छ । स्थानीय निकायसँग छलफल भइ शनिबार बिहानदेखि काम अगाडि बढाइएको छ ।

गलौंदी खण्डको ७० मिटर सडकमा समस्या भएको र भित्तो काटेर सवारी सञ्चालनमा ल्याइने सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उनका अनुसार १० भदौको भोटेकोशी बाढीपछि तलबाट त्रिशूली नदीले कटान गर्दा त्यसको असर अहिले देखिएको हो ।

पृथ्वीराजमार्ग भएर अघिपछि दैनिक १५ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्ने गर्छन् । दसैंका बेला यो संख्या तेब्बरसम्म पुग्ने गरेको छ । यसअघि १४ भदौमा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वीराजमार्गको कृष्णभीर खण्ड भासिएको थियो ।