काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसंयोजन समिति बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।
उनका अनुसार, बैठकले राष्ट्रिय जागरण अभियानको कार्यविधिसमेत पारित गरेको छ । अभियानमार्फत पार्टीको महाधिवेशनको तयारीलाई व्यापक बनाउने र विभिन्न भेला आयोजना गर्ने निर्णय भएको उनले बताए ।
“राष्ट्रिय जागरण अभियानको कार्यविधि आजको बैठकले पारित गरेको छ । यसको मुख्य महत्त्व भनेको हामी महाधिवेशनको तयारी पनि गर्छौं । विभिन्न भेलामार्फत महाधिवेशनको व्यापक तयारी अगाडि बढाउँछौँ,” ज्वालाले भने ।
अभियानकै क्रममा स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि अघि बढाइने उनले बताए । सरकारले गरेका जनविरोधी क्रियाकलाप र अराजकताविरुद्ध पार्टीले अभियानमार्फत तयारी अघि बढाउने उनको भनाइ छ ।
बैठकले आगामी पुस ११ गते देशभरका वडामा एकै दिन वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यस्तै, माघ १५ गते देशभरका सबै पालिकामा एकै दिन अधिवेशन गर्ने तयारी नेकपाले गरेको छ ।
स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।

