कांग्रेस महाधिवेशनमा मतदान सुरु

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ । महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ ।

कांग्रेस महाधिवेशनमा मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु हुने भनिए पनि ढिलोगरी मतदान सुरु भएको हो । महाधिवेशनका ज्येष्ठ प्रतिनिधि शोभाकान्त बरालले पहिलो मत खसालेका छन् ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार मतदान दिउँसो ३ बजेसम्म हुनेछ । महाधिवेशन प्रतिनिधिको संख्या सात हजार ३१७ रहेको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा मतदान गर्नुपर्नेछ ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’मा वाग्मती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन् । खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोसी प्रदेश तथा तराई–मधेस समूहका प्रतिनिधिले मतदान गर्नेछन् ।

हिमाल हलमा गण्डकी प्रदेश तथा तराई–मधेस हलमा मधेस प्रदेश प्रतिनिधिले मतदान गर्नेछन् ।

पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले प्रतिनिधिले मतदान गर्नेछन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी सात हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ ।

मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ । रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ ।

निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन । प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।

मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । विभिन्न पदमा परेको उमेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन् ।

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना सुरु गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ ।

१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ ।