काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा दीपचन्द्र रेग्मी र सहायक प्रमुख कार्यकारी अधिकृत पदमा बुद्धि अकेला बढुवा भएका छन्।
बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत र अकेलालाई सहायक प्रमुख कार्यकारी अधिकृत पदमा पदोन्नति गरिएको बैंकले जनाएको छ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी यसअघि बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
सन् २००७ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका रेग्मी सन् २००९ देखि ग्लोबल आइएमई बैंकमा आबद्ध छन्। उनले बैंकको प्रमुख वित्तीय अधिकृत प्रमुख मानव संसाधन अधिकृत प्रमुख कर्जा अधिकृत तथा ट्रेड फाइनान्स प्रमुख जस्ता महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक सम्हालिसकेका छन्।
साथै, उनी बैंकको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समिति अध्यक्षको भूमिकासमेत सम्हाल्दै आएका छन्।
सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएका बुद्धि अकेला यसअघि बैंकको नायब महाप्रबन्धक एवं प्रमुख जोखिम अधिकृतको जिम्मेवारीमा कार्यरत थिए।
बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा लामो अनुभव सँगालेका अकेलाले सन् २००४ मा नेपाल बैंक लिमिटेडबाट नायब प्रबन्धकका रूपमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए। उनी सन् २००६ देखि निरन्तर ग्लोबल आइएमई बैंकमा आबद्ध छन्।
लामो बैंकिङ यात्राका क्रममा उनले एकीकृत जोखिम व्यवस्थापन, व्यवसाय विस्तार, शाखा सञ्चालन, कर्जा प्रशासन तथा आन्तरिक लेखापरीक्षण जस्ता प्रमुख विभागहरूको नेतृत्व गरिसकेका छन्। अकेला बैंकको सहायक कम्पनी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्ष पनि हुन्।
पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका अकेला जोखिम व्यवस्थापन र बैंकिङ सञ्चालनमा अनुभवी मानिन्छन्।

