काठमाडौं । जलवायु विपद्का कारण क्षतिग्रस्त विभिन्न पूर्वाधार निर्माणका लागि तत्कालै ६३ अर्ब रुपैयाँ माग गरिएको छ ।
पूर्वाधार क्षेत्रमा दुई खर्ब २७ अर्ब रुपैयाँ क्षति भएको भन्दै पुनर्निर्माण प्रक्रिया अघि बढाउन तत्कालै ६३ अर्ब आवश्यक रहेको पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले बताए ।
मंगलबार सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सचिव मैनालीले पुनर्निर्माण प्रक्रिया अघि बढाउन तत्कालै ६३ अर्ब रुपैयाँ माग भएको बताए ।
बैठकमा क्षतिको विवरणसमेत पेस भएको थियो । सचिव मैनालीले सबैभन्दा बढी क्षति आवास क्षेत्र (निजी तथा सार्वजनिक) मा भएको बताए । बाढीका कारण सात हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवन गरी कुल १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको उनको भनाइ छ ।
बाढीले सडक सञ्जालमा २० अर्ब, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड र खानेपानी तथा सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँको क्षति पुर्याएको छ ।
कनेक्टिभिटी र पुर्नस्थापनालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनले बताए । तत्काल करिब ३०० संक्रमणकालीन आवास निर्माणको तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

