अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा

मन्त्रालय स्रोतका अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे फागुन १० गते ५८ वर्ष पुग्दै छन्। त्यसपछि उनी अनिवार्य अवकाशमा जाँदै थिए।

अर्थ मन्त्रालयका दुई सहसचिवले दिए राजीनामा

काठमाडौं । अर्थ मन्त्रालयका दुई सहसचिवले राजीनामा दिएका छन् । सहसचिवद्वय राजेन्द्रदेव पाण्डे र पदमकुमार श्रेष्ठले मंगलबार राजीनामा दिएका हुन्। उमेर हदका कारण चालु आर्थिक वर्षभित्रै अनिवार्य अवकाशमा जान लागेका दुवै सहसचिवले अवकाशअघि नै राजीनामा दिएका छन्।

मन्त्रालय स्रोतका अनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे फागुन १० गते ५८ वर्ष पुग्दै छन्। त्यसपछि उनी अनिवार्य अवकाशमा जाँदै थिए।

त्यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठ आगामी जेठ १४ गते ५८ वर्ष पूरा गरी अनिवार्य अवकाशमा जाने अवस्थामा थिए। उनले अवकाशको केही महिनाअघि नै राजीनामा दिएका हुन्।

पाण्डे यसअघि नेपाल ट्रस्टको कार्यालयमा कार्यरत थिए। त्यहाँबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय हुँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पुगेका थिए।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तत्कालीन प्रमुख गोपीकृष्ण कोइरालाले राजीनामा दिएपछि पाण्डेले प्रमुखको जिम्मेवारी पाएका थिए। उनले छोटो समयमै उक्त जिम्मेवारीबाट समेत राजीनामा दिएका हुन्।

श्रेष्ठ भने लामो समयदेखि आन्तरिक राजस्व विभागमा कार्यरत थिए। उनले पनि अनिवार्य अवकाशको समय आउनुअघि नै राजीनामा दिएका हुन्। दुवै जनाले अर्थ सचिवलाई राजनीनामा बुझाएका छन्। मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि लागू हुनेछ।