बुर्तिबाङ । निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक निर्माणका क्रममा पहिरो खस्दा दुई जना मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
पहिरोमा परी सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मान्धरले जानकारी दिए ।
सोमबार बिहान करिब ७ः३० बजेको समयमा काप्रा–बोहरागाउँ–छापाखानी प्युठान सडकखण्ड निर्माणका क्रममा काम गरिरहेका मजदुरमाथि अचानक पहिरो खस्दा घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा रोल्पाका कृष्ण घर्तीमगर गम्भीर घाइते भएका छन् । उनको थप उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ ल्याइएको निरीक्षक मान्धरले जानकारी दिए ।

