धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएको थियो । पुल बगेपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालयले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

