बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७, गाँवमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
खड्ग जयन्ती युवा क्लबको आयोजना, बडिगाड गाउँपालिकाको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र धौलागिरि अस्पतालको समन्वयमा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।
आउँदो असोज ३० गते सञ्चालन हुने शिविरमा विशेष गरी महिला स्वास्थ्यलाई प्राथमिकतामा राखिएको छ। क्लबका सचिव विमल खड्काका अनुसार शिविरमा महिलाहरूको पाठेघरको क्यान्सर जाँच, आङ खसेको पाठेघरको उपचारका साथै सुगर र उच्च रक्तचाप (प्रेसर) सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिनेछ।
स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराइने भएकाले नागरिकहरूलाई शिविरबाट लाभ लिन आयोजकले आग्रह गरेको छ। क्लबको १५ औं वार्षिकोत्सव तथा फुलपाती मेलामा अन्य खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिएको क्लवका अध्यक्ष लोकबहादुर केसीले जानकारी दिए ।

