बिराट एग्रीको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

बिराट एग्रीका अनुसार कम्पनीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत एकीकृत कृषि तथा व्यावसायिक मत्स्यपालन गर्दै आएको छ।

बिराट एग्रीको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र बिराट एग्री लिमिटेडबीच भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओं निष्कासन) गर्न आवश्यक संस्थागत परामर्शसहित निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौता भएको छ।

इटहरी–१३, सुनसरीमा कारोबार कार्यालय रहेको बिराट एग्रीले प्रचलित कानूनको अधीनमा रही भविष्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। एनआईसी एशिया क्यापिटलले आफ्नोसेवाअन्तर्गत कम्पनीलाई आवश्यक परामर्श उपलब्ध गराउने जनाएको छ।

बिराट एग्रीका अनुसार कम्पनीले मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रमा करिब १५० वटा पोखरीमार्फत एकीकृत कृषि तथा व्यावसायिक मत्स्यपालन गर्दै आएको छ। इटहरी–१३ को खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टसमेत सञ्चालनमा रहेको कम्पनीले जनाएको छ। कम्पनीले प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पूँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि र व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ।

बिराट एग्रीले पाङ्गास माछा प्रशोधन गरी फिलेट तथा अन्य मूल्य अभिवृद्धि भएका माछाजन्य उत्पादनको प्याकेजिङ र बजारीकरण गर्न फिस प्रोसेसिङ प्लान्ट स्थापना गर्ने लक्ष्य राखेको छ। साथै माछा तथा पशुपन्छीका लागि पोषणयुक्त दाना उत्पादन गर्न दैनिक १० टन क्षमताको आधुनिक पेलेट फिड प्लान्ट स्थापना गर्ने योजना रहेको जनाएको छ।

कम्पनीको अवधारणाअन्तर्गत माछा उत्पादन, दाना उत्पादन, प्रशोधन तथा फिलेटिङ, कोल्ड स्टोरेज, प्याकेजिङ र बजार व्यवस्थापनलाई एउटै एकीकृत व्यावसायिक चक्रमा विकास गर्ने योजना अघि सारेको छ। कम्पनीका अनुसार यसबाट कृषि तथा एक्वाकल्चर क्षेत्रमा मूल्य अभिवृद्धि, आधुनिक प्रविधिको प्रयोग, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने लक्ष्य छ।