काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको लागि प्रतिनिधि छनौटका क्रममा सुनसरी क्षेत्र नम्बर ४ मा विवाद भएपछि हात हालाहाल भएको छ।
गएराति गफार अन्सारी र अयुव अन्सारी समूह बिचमा हात हालाहाल हुनुको साथै नाराबाजी भएको थियो।
निर्वाचनको क्रममा गफार अन्सारी समूहले धाँधली गरेको आरोप अयुव समूहले लगाएको छ। विरोध स्वरुप केही बेर युवा अन्सारी समूहले पूर्वपश्चिम राजमार्ग अन्तर्गत लौकहीको सिटी भवन अगाडी सडक अवरुद्ध गरेको थिए।
निर्वाचन भइरहेको सिटी हलमा अयुव अन्सारी समूहले मत पत्र खोस्ने काम गर्न थालेपछि त्यहाँ पुगेका अन्सारीले मत पेटिकामा लात्ताले हानेको आरोप स्थानीय नेताहरूको छ। त्यसपछि विवाद सुरु भएको थियो।
झन्डै डेढ घण्टा बढी विवाद भएपछि प्रहरीले मत पेटीकालाई सुरक्षित गरेर मतदानको वातावरण बनाएको थियो। सुनसरी क्षेत्र नम्बर ४ मा विवादको बिच प्रतिनिधि छनोटको निर्वाचन सकिएको छ।
मतदानपछि अहिले मत पेटिका जिल्ला प्रहरी कार्यालयमा राखिएको नेपाली काँग्रेस जिल्लाका सचिव वीरेन्द्र साहले जानकारी दिए। उनले भने, ‘अहिले मत पेटिका जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको भन्ने जानकारी आएको छ।’
नेपाली काँग्रेस सुनसरीका निर्वाचन अधिकृत भरतबहादुर थापाले केन्द्रले निर्वाचन स्थगित गर्न भनेपछि मतदान भएको मत पेटिकालाई जिल्ला प्रहरी कार्यालयमा सिलबन्दी गरेर सुरक्षित गर्ने काम भएको जानकारी दिए।
सुनसरी क्षेत्र नम्बर १ मा असोज १५ गते र क्षेत्र नम्बर २ र ३ मा मतदान बुधबार हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

