कर्णाली प्रदेशका सांसद राजकुमार शर्मा पदमुक्त, सर्वोच्चले खारेज गर्‍यो रिट

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो। नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

कर्णाली प्रदेशका सांसद राजकुमार शर्मा पदमुक्त, सर्वोच्चले खारेज गर्‍यो रिट

काठमाडौं । कर्णाली प्रदेश सभाका सांसद राजकुमार शर्मालाई पदमुक्त गर्ने निर्णय सर्वोच्च अदालतबाट पनि सदर भएको छ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शर्मालाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयलाई पत्र पठाएको थियो। नेकपाको निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गरेको हो। यसअघि नेकपाको निर्णय तत्काल कार्यान्वयन नगर्न र शर्मालाई सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश भएको थियो। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासको अन्तरिम आदेशपछि शर्मालाई प्रदेश सभामा नियमित जाने बाटो खुलेको थियो।

शर्मा २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

नेकपाबाट जनार्दन शर्मा अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए। गत फागुन २१ मा भएको निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारको प्रचारमा लागेको आरोपमा नेकपाले उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।