काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज (आइतबार) दिउँसो छाडेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरे। कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीले पूर्वप्रधानन्यायाधीश जबरालाई छोराको जिम्मा लगाइएको बताए।
यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई शनिबार अबेर राति महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।
यद्यपि अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको नभई भौतिक आक्रमण हुने सूचनापछि उनकै सुरक्षाका लागि जबरालाई प्रहरीकहाँ लगिएको दाबी गरेको थियो।
२०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग दर्ता गरिएको थियो। त्यसपछि उनको पद निलम्बन भएको थियो । यद्यपि महाभियोग पारित नभए पनि उनी त्यसयता सर्वोच्च अदालत फर्किन पाएनन्। निलम्बनमै रहेका बेला उनको कार्यकाल सकिएको थियो।
उनीविरुद्धको महाभियोग संसद्मा लामो समय अलपत्र परेको थियो। संसद्को अधिवेशन नै सकिएको भन्दै तत्कालीन महासचिवले २०७९ मंसिरमा महाभियोग निष्क्रिय भएको पत्र लेखेका थिए।
यसरी सफाइ पत्र लेखेको भन्दै तत्कालीन महासचिवविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको थियो। तर सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गरेको थियो

